२०८२ चैत १४ शनिवार , ०९:२०:५१ बजे

Sajhamanch
'

कमलमा नमूना युवा संसद अभ्यास तालिम सम्पन्न

शनिवार, चैत १४, २०८२

कमल । झापाको कमल गाउँपालिकामा सञ्चालित नमूना युवा संसद अभ्यास तालिम आज सम्पन्न भएको छ । कमल गाउँपालिकाको आयोजना र कुइनेटो मिडिया प्रालिको प्राविधिक सहयोगमा गत बुधबारदेखि सञ्चालित नमूना संसद अभ्यास तथा कार्यशाला आज सम्पन्न भएको हो ।

गाउँपालिकाको चालू आर्थिक वर्षको वार्षिक स्वीकृत कार्यक्रम अन्तरगत सञ्चालित कार्यक्रमबाट युवालाई नेतृत्व तथा क्षमता विकासमा सहयोग गर्ने उद्देश्य लिइएको छ । तालिममा सहभागी युवामा सीप विकास तथा व्यक्तित्व विकासमा सहयोग पुग्नुका साथै नेपालको शासन प्रणाली र यसको विकास प्रक्रियाका बारेमा सुसूचित गराइएको थियो ।

त्यसैगरी युवामैत्री राष्ट्रिय नीति, योजना र कार्यक्रम निर्माणका लागि राज्यलाई सुझाव दिइ सकारात्मक वातावरण निर्माण गर्ने तथा युवालाई विषयगत दक्षता हासिल गराई उक्त क्षेत्रको नेतृत्व र पैरवी गर्न सक्षम बनाउने उद्देश्य राखिएको थियो ।

स्थानीय तहलाई युवामैत्री बनाउने, युवालाई अधिकार र कर्तव्यप्रति सजग गराउँदै राष्ट्र निर्माणमा उत्प्रेरित गर्ने र युथ भिजन २०२५ का परिलक्षित योजना र कार्यक्रमलाई साकार बनाउँदै, दिगो विकासका लक्ष्यहरुलाई स्थानीयकरण र कार्यान्वयनमा युवाहरुलाई सहभागी गराउने उद्देश्यका साथ तालिम आयोजना गरिएको गाउँपालिका शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख सूर्यप्रसाद न्यौपानेले बताउनु भयो ।

गाउँपालिकाका सबै वडाबाट छनौट भएर आएका युवा तथा बाल क्लवका पदाधिकारी लगायत ३० जनाभन्दा बढी युवाको सहभागितामा तालिम सम्पन्न गरिएको हो । सहभागीहरुलाई राष्ट्रिय युवा परिषदका प्रशिक्षक योगेन्द्र पौडेल र हर्क विकले सहजीकरण गर्नु भएको थियो ।

सम्बन्धित खबर