
काठमाडौं । इजरायली सेनाले इरानको राजधानी तेहरानसहितका विभिन्न सरकारी पूर्वाधारहरूमा शक्तिशाली हवाई आक्रमण गरेको छ।तेहरानको पूर्वी क्षेत्रमा यसअघि नसुनिएका शक्तिशाली विष्फोटका आवाज सुनिएका छन् भने इरानी वायु रक्षा प्रणालीले अमेरिकी र इजरायली ड्रोनहरूलाई निसाना बनाइरहेको अन्तराष्ट्रिय सञ्चारमाध्यम अलजजिराले जनाएको छ।
इजरायलले सरकारी संरचना लक्षित गरी आक्रमण तीव्र पारेपछि इरानले कडा प्रतिकारको चेतावनी दिएको छ। इरानले यदि अमेरिकाले आफ्ना ऊर्जा केन्द्रहरुमा क्षति पु¥याएमा रणनीतिक रूपमा स्ट्रेट अफ हर्मोज पूर्ण रूपमा बन्द गरिदिने चेतावनी दिएको छ।
साथै, इरानले आफ्नो ऊर्जा प्रणालीमा दख्खल पुगे पश्चिम एसियाका अन्य देशका ऊर्जा र खानेपानी प्लान्टहरूमा समेत आक्रमण गर्ने चेतावनी दिएको छ।यसैबीच, इरानको खोर्रामाबादमा भएको आक्रमणपछि ठुलो क्षेत्रमा विद्युत् आपूर्ति बन्द भएको छ। दक्षिण बन्दरगाह सहर बन्दर अब्बासस्थित रेडियो स्टेशनमा भएको आक्रमणमा एक कर्मचारीको मृत्यु भएको छ।पछिल्लो तनावका कारण विश्व बजारमा तेल र ग्यासको आपूर्ति २० देखि २५ प्रतिशतले प्रभावित भएको छ। अमेरिकाभित्रै पनि युद्धको विरोध सुरु भएको छ।
त्यहाँका एक सिनेटर चक सुमरले अर्बौँ डलर बालुवामा खन्याइएको भन्दै युद्ध रोक्न माग गरेका छन्।उता इरानमा पनि त्यहाँका नागरिकहरूले नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीको समर्थनमा प्रदर्शन जारी राखेका छन्। एजेन्सी


