२०८२ चैत ७ शनिवार , १०:५६:५४ बजे

Sajhamanch
'

प्रधानमन्त्री कप क्रिकेट आजदेखि सुरु हुँदै

शनिवार, चैत ७, २०८२

जनकपुर । जनकपुर र वीरगन्जमा एकैसाथ खेलाइने प्रधानमन्त्री (पीएम) कप मेन्स राष्ट्रिय क्रिकेट टुर्नामेन्ट आज शनिबारदेखि सुरु हुँदै छ । जनकपुरको प्रस्तावित रामजानकी अन्तर्राष्ट्रिय बहुउद्देश्यीय क्रिकेट रंगशालामा पीएम कपको उद्घाटन खेल खेलाइने भएको हो ।

नेपाल क्रिकेट संघ (क्यान)को आयोजनामा हुने पीएम कपको उद्घाटन खेल मधेश प्रदेश र कोशी प्रदेशबीच हुनेछ । मधेश प्रदेशका खेलकुद तथा समाज कल्याणमन्त्री वसन्त कुशवाहाले पीएम कपको शुभारम्भ गर्ने कार्यक्रम तय भएको छ । शनिबार नै वीरगन्जमा कर्णाली र लुम्बिनी प्रदेशबीच खेल हुनेछ ।

सातवटा प्रदेशसहित तीन विभागीय टोली नेपाल पुलिस क्लब, नेपाल एपीएफ क्लब र त्रिभुवन आर्मी क्लबबीच पीएम कपमा प्रतिस्पर्धा हुनेछ । वैशाख ३ सम्म चल्ने पीएम कप क्यानको एकदिवसीय प्रतियोगिता हो । पीएम कपको जनकपुरमा उद्घाटनसहित १७ खेल हुनेछ भने वीरगन्जमा १८ खेलसहित फाइनल हुने प्रतियोगिताका निर्देशक आकाश पाण्डेले जानकारी दिए ।

पीएम कपका लागि जनकपुरस्थित रामजानकी क्रिकेट मैदानमा रहेका तीन वटै पिचलाई तयार पारिएको छ । पाण्डेले पीएम कपका लागि जनकपुरको क्रिकेट मैदान तयार रहेको बताए । ‘तीन वटै पिचलाई रोलर चलाएर तयार पारिएको छ,’ पाण्डेले भने, ‘खेल हुने क्रिकेट मैदानको चारैतिर बाउन्ड्री बाहिर दर्शक बस्ने बन्दोबस्त मिलाइएको छ ।’

प्रतियोगितको सुरुआती खेलहरू काठमाडौंको मूलपानीका दुई मैदानमा पनि हुनेछ । विजेताले १० र उपविजेताले ५ लाख पाउने क्यानले शुक्रबार विज्ञप्तिमार्फत जनाएको छ ।

सम्बन्धित खबर