
काठमाडौँ । देशका विभिन्न स्थानमा बुधबार र बिहीबार भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ।
नेपाल प्रहरीको केन्द्रीय समाचार कक्षका अनुसार पछिल्लो २४ घण्टामा देशका ६ वटा छुट्टाछुट्टै जिल्लामा भएका सवारी दुर्घटनामा उनीहरूको मृत्यु भएको हो।
तनहुँको व्यास नगरपालिका-४ भोर्लेटार चोकमा बुधबार राति ना.४९ प ८४६४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा शुक्लागण्डकी नगरपालिका-६ की २३ वर्षीया पुजा गुरूङको मृत्यु भएको छ।
गम्भीर घाइते भएकी उनको मणिपाल अस्पताल पोखरामा उपचारका क्रममा मृत्यु भएको हो। प्रहरीले मोटरसाइकल चालकलाई नियन्त्रणमा लिएको छ।
नवलपरासी पूर्वको गैंडाकोट नगरपालिका-१२ मा बुधबार दिउँसो बा.प्र.०१-००६ ख ७४६३ नम्बरको बसले बा.प्र.०३-०४ प ६४० नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक ५८ वर्षीय कृष्ण कंडेलको मृत्यु भएको छ।
उनको भरतपुरस्थित नयाँ मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो। प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएको छ।
कैलालीको कैलारी गाउँपालिका-५ मा बुधबार राति ना.६ ख ७७८ नम्बरको ट्रकले गोरूगाडालाई ठक्कर दिँदा गाडामा सवार ६० वर्षीय कलसु चौधरी र उनकी ७० वर्षीया श्रीमती सेतानु चौधरीको मृत्यु भएको छ।
सेती प्रादेशिक अस्पतालमा उपचारका क्रममा उनीहरूको मृत्यु भएको हो। ट्रक चालक प्रहरी नियन्त्रणमा छन्।
सुनसरीको रामधुनी नगरपालिका-५ मा बिहीबार बिहान नम्बर नखुलेको पिकअप गाडीको ठक्करबाट ६१ वर्षीय बिष्णु प्रसाद खतिवडाको मृत्यु भएको छ। दुर्घटनामा अर्का एक साइकलयात्री घाइते भएका छन्। फरार पिकअप चालकको प्रहरीले खोजी गरिरहेको छ।
उदयपुरको बेलका नगरपालिका-४ मा बुधबार दिउँसो को.१ ख ३५१६ नम्बरको बसबाट खसेर ९ वर्षीय सफल बस्नेतको घटनास्थलमै मृत्यु भएको छ। चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।
सिन्धुलीको सुनकोशी गाउँपालिका-६ मा पनि बुधबार राति दुईवटा मोटरसाइकल एकापसमा ठोक्किँदा रामेछाप मन्थली नगरपालिका-६ का ४५ वर्षीय डल्ले माझीको मृत्यु भएको छ।
दुर्घटनामा घाइते भएका अन्य दुई जनाको काठमाडौंमा उपचार भइरहेको छ। प्रहरीले सबै दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको जनाएको छ।


