
काठमाडौं । न्युरोड टिम (एनआरटी) लाई हराउँदै सङ्कटा क्लबले शहीद स्मारक एन्फा महिला लिगमा विजयी शुरुआत गरेको छ ।
एन्फा कम्प्लेक्समा आज भएको उद्घाटन खेलमा सङ्कटाले एनआरटीलाई ४–० गोलले हरायो । सङ्कटाका लागि सुक्रिया मिया, म्यानमारकी विन थेङ्गी टुन, मोजाम्बिककी लुसिया लिला जोस र घानाकी क्वीनबेल अकोसुआ अमनक्राहले गोल गरे ।
एन्फा महिला लिगमा अहिले दिउँसो ३ बजे एन्फा कम्प्लेक्समै त्रिभुवन आर्मी एफसी र झापा एफसी खेल्दैछन् ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) ले आयोजना गरेको प्रतियोगितामा ९ वटा टोली सहभागी छन् । सिङ्गल राउन्ड रोबिनका आधारमा हुने प्रतियोगिता आउँदो वैशाख १२ गतेसम्म चल्नेछ ।


