२०८२ चैत ४ बुधवार , ०१:३१:४० बजे

Sajhamanch
'

झापा–५ मा कुशलतापूर्वक खटिएका डिएसपी लम्साल फागुन महिनामा कोशीमै ‘सर्वोत्कृष्ट प्रहरी’

बुधवार, चैत ४, २०८२

विराटनगर । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले इलाका प्रहरी कार्यालय दमक, झापामा कार्यरत प्रहरी नायव उपरीक्षक (डिएसपी) किशोर लम्साललाई फागुन महिनाको ‘सर्वोत्कृष्ट प्रहरी’ घोषित गरेको छ ।

विभागीय मूल्य–मान्यता, आदेश–निर्देशन पालनासँगै उच्च मनोबल र साहसका साथ पदीय कर्तव्य निर्वाह गरेको भन्दै डिएसपी लम्साललाई उत्कृष्ट घोषित गरिएको हो ।

डिएसपी लम्सालले फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा झापा निर्वाचन क्षेत्र नम्बर–५ जस्तो अतिसंवदनशील निर्वाचन क्षेत्रमा शान्ति सुरक्षा तथा अमनचयन कायममा सफल भएको प्रहरी संगठनको निष्कर्ष छ ।

यस्तै, जेन्जी आन्दोलनका क्रममा इलाका प्रहरी कार्यालय दमकबाट लुटिएका हतिया र हिरासतबाट भागेर फरार भएका प्रतिवादी खोजतलास गरेर राइफलसहित १९ प्रतिवादी पक्राउ गर्न लम्साल सफल हुनुभएको थियो । फागुन महिनामा प्रहरीमा दर्ताका ३५ मुद्दामा जेन्जी आन्दोलनसँग सम्बन्धित १० मुद्दामा किनारा लगाउने काममा पनि डिएसपी लम्साल सफल हुनुभएको थियो ।

प्रहरी संगठनको नियमित कार्यमा कुशलतापूर्वक भूमिका निर्वाह गर्दै २२ फरार प्रतिवादी पक्राउ गर्न सफल लम्साल आमनागरिकमा शान्ति सुरक्षाको अनुभुति हुने किसिमले पदीय दायित्व तथा जिम्मेवारीमा खटिएको भन्दै फागुन महिनामा कोशी प्रदेशमै ‘सर्वोत्कृष्ट प्रहरी’ घोषणा भएका हुन् ।

सम्बन्धित खबर