२०८२ चैत ३ मङ्गलवार , १०:०६:३९ बजे

Sajhamanch
'

शिवसताक्षीको चन्द्रडाँगी–लालपानी जोड्ने झोलुङ्गे पूल निर्माण कार्य अन्तिम चरणमा

मङ्गलवार, चैत ३, २०८२
  • सरोज भट्टराई

शिवसताक्षी। शिवसताक्षी नगरपालिका वडा नं. ६ स्थित चन्द्रडाँगी बजार हुँदै कनकाई नदीपूर्वमा रहेको वडा नं. १० र वडा नं. ७ को केही भू–भाग जोड्न कनकाई नदीमाथि झोलुङ्गे पूलको निर्माणको कार्य अन्तिम चरणमा पुगेको पाइएको छ।

संघीय सरकारको झोलुङ्गे पूल महाशाखा, कुपन्डोलबाट विनियोजित ७ करोड ४१ लाख रुपैयाँको लागतमा निर्माण सुरु गरिएको उक्त झोलुङ्गे पूलको लम्बाइ ६४० मिटर रहेको निर्माण कम्पनी पशुपति हरि कन्स्ट्रक्सन प्रालिले जनाएको छ।

शिवसताक्षी नगरपालिकाको भौगोलिक अवस्थिति अनुसार कनकाई नदीपूर्व पनि केही वडाहरु रहेका छन् । कनकाई नदीपूर्व पनि वडा नं. १० र वडा नं. ७ को केही भू–भाग छ। हालसम्म ती वडाका बासिन्दाले आफ्नै वडाभित्र आवतजावत गर्नसमेत पूर्व–पश्चिम राजमार्गमा रहेको कनकाई पूलको प्रयोग गर्नुपर्ने बाध्यता छ ।

स्थानीयका अनुसार वडा नं. ७ का बासिन्दाले आफ्नो वडाको अर्को भाग पुग्न करिब सात किलोमिटर उत्तरतर्फ यात्रा गरेर कनकाई पूल पार गरी जानुपर्ने अवस्था छ। तर अब झोलुङ्गे पूल निर्माण सम्पन्न भएपछि यो बाध्यात्मक परिस्थिति अन्त्य हुने विश्वास लिइएको उनको भनाई छ।

शिवसताक्षीको चन्द्रडाँगी बजार पूर्व हुँदै लालपानी जोड्ने उक्त झोलुङ्गे पूल निर्माण सम्पन्न हुन लागेसँगै स्थानीय बासिन्दाको वर्षौंदेखिको आवतजावत समस्या समाधान हुने अपेक्षा गरिएको छ। पूल निर्माण सम्पन्न भएपछि चन्द्रडाँगी क्षेत्रबाट सिधै लालपानी जोडिनेछ, जसले स्थानीय बासिन्दाको दैनिक आवतजावतमा ठूलो सहजता ल्याउने विश्वास गरिएको छ।

पूल निर्माणसँगै लालपानी, ट्याक्रा लगायत माईपूर्वका बासिन्दालाई नगरपालिका कार्यालय तथा बजार क्षेत्रसम्म आउन-जान सहज हुने शिवसताक्षी नगरपालिकाले जनाएको छ। स्थानीयस्तरमा सामाजिक, आर्थिक तथा प्रशासनिक गतिविधि सञ्चालन गर्न पनि पूल महत्वपूर्ण पूर्वाधारका रूपमा स्थापित हुने अपेक्षा गरिएको छ।

शिवसताक्षी नगरपालिकाका नगरप्रमुख मेगाहाङ थोप्राले नगर क्षेत्र हेर्दा सहज देखिए पनि भौगोलिक अवस्था र बीचमा बग्ने ठूलो नदीका कारण विकास तथा आवतजावतमा चुनौती रहेको बताउनु भयो। उहाँका अनुसार ठूलो नदीमाथि पूल निर्माण गर्ने काम नगरपालिकाको बजेटबाट सम्भव नभएकाले संघीय सरकारको सहयोगमा यो योजना कार्यान्वयनमा आएको हो।

नगरप्रमुख थोप्राले पूलको निर्माण कार्य गुणस्तरीय ढंगले सम्पन्न होस् भन्ने उद्देश्यले नगरपालिकाले पटक–पटक स्थलगत अनुगमन गर्दै आएको पनि बताउनु भयो।

पूल निर्माण सम्पन्न भएपछि शिवसताक्षी नगरपालिकाका सबै वडाहरू नगर केन्द्रसँग अझै प्रभावकारी रूपमा जोडिने विश्वास गरिएको छ। यसले स्थानीयको दैनिक जीवन सहज बनाउनुका साथै आर्थिक गतिविधि, शिक्षा, स्वास्थ्य सेवा र प्रशासनिक पहुँचलाई समेत थप सुदृढ बनाउने अपेक्षा गरिएको छ।

सम्बन्धित खबर