
काठमाडौं । स्वास्थ्य बीमा बोर्डले राष्ट्रिय परिचयपत्रका आधारमा बिमितलाई सेवा प्रवाह गर्ने भएको छ ।
अब बिमितले नवीकरण गर्दा तथा बीमामा आबद्ध हुँदा राष्ट्रिय परिचयपत्र पनि बुझाउनुपर्नेछ । कतिपय बिमितले बीमाको दोहोरो सुविधा तथा फरक फरक ठाउँबाट सेवा लिएको भन्दै बोर्डले यसलाई रोक्न प्रयास थालेको हो ।
राष्ट्रिय परिचयपत्रका आधारमा स्वास्थ्य बीमा सेवा उपलब्ध गराउनेबारे बीमा बोर्डका कार्यकारी निर्देशक डा। कृष्णप्रसाद पौडेल र राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागका महानिर्देशक नमराज घिमिरेबीच समझदारीपत्रमा हस्ताक्षर समेत भएको छ ।
बीमा बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार दुई निकायबीच भएको समझादारीअनुसार राष्ट्रिय परिचयपत्र नम्बरमार्फत् नागरिकको पहिचान डिजिटल रूपमा प्रमाणीकरण गरीनेछ ।
अब बीमामा आबद्ध हुन आउनेलाई राष्ट्रिय परिचयपत्र समेत ल्याउन भनिनेछ । यदि कसैसँग राष्ट्रिय परिचय पत्र छैन भने निश्चित समयमा बनाएर पेस गर्न अनुरोध गरिनेछ ।
यहि चैत २५ गतेदेखि राष्ट्रिय परिचयपत्रका आधारका दर्ता र नवीकरण शुरु हुनेछ । स्वास्थ्य बीमा बोर्डमा अहिले एक करोड दुई लाख बिमित आबद्ध छन् । अहिले नागरिकता र चालक अनुमतिपत्रका आधारमा स्वास्थ्य बीमा गर्ने गरिएको छ ।
सूचना अधिकारी मल्लले राष्ट्रिय परिचयपत्रले बीमा दर्ता, नवीकरण तथा सेवा प्राप्त प्रक्रियालाई सरल बनाउँदै तथ्याङ्क एकीकरण, दोहोरो दर्ता नियन्त्रण र सेवा प्रवाहलाई प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभएको छ ।


