
काठमाडौं । पानी पार्ने प्रणाली पश्चिमतिर पनि विस्तार भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो तीन/चार दिन गण्डकीबाट पूर्व कोशीसम्म विभिन्न ठाउँमा पानी पर्दै आएकोमा आजदेखि पश्चिम नेपालतर्फ पनि पानी पार्ने प्रणाली विस्तार भएको छ ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा आज बिहान पानी परेको छ । बिहान सुर्खेत, अछाम, डोटी, डडेलधुरा, गुल्मी, अर्घाखाँची, प्यूठान, बाग्लुङ, पाल्पालगायतका जिल्लामा पानी परेको छ ।
अछाममा पछिल्लो एक घण्टामा ५ मिलिमिटर वर्षा मापन भएको छ, त्यस्तै अर्घाखाँचीमा पछिल्लो तीन घण्टामा ४ दशमलव २ मिलिमिटर वर्षा मापन भएको छ ।
पश्चिम क्षेत्रमा अबको तीन दिनसम्म नै मौसम बदली र कतैकतै पानी पर्ने सम्भावना छ । अहिले नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।
मौसमविद् रोजन लामिछानेका अनुसार दिउँसोपख हावाहुरी, चट्याङ र असिना पानीसहित कतैकतै ठूलो पानी पर्ने सम्भावना छ । आज दिउँसोपख काठमाडौं उपत्यकामा पनि पानी पर्ने सम्भावना छ ।
हिजो पनि देशका केही ठाउँमा मध्यमसम्मको वर्षा र कतैकतै असिना पनि परेको थियो ।


