२०८२ फागुन २९ शुक्रवार , ०५:००:२६ बजे

Sajhamanch
'

अब आईपीएल टोलीहरूलाई अभ्यासका लागि छुट्टाछुट्टै नेट

शुक्रवार, फागुन २९, २०८२

काठमाडौं । भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले इन्डियन प्रिमियर लिग (आईपीएल) टोलीहरूको अभ्यास सत्रका लागि नयाँ दिशानिर्देश जारी गरेको छ । अब एउटै नेट वा पिचमा दुई वटा टोलीले अभ्यास गर्न नपाउने भएका छन् ।

नयाँ दिशानिर्देशअनुसार प्रत्येक टोलीलाई अभ्यासका लागि छुट्टै र नयाँ नेटहरू प्रदान गरिनेछ । दुई टोलीले फरक समयमा अभ्यास गरे पनि पहिलो टोलीले प्रयोग गर्ने नेटहरू दोस्रो टोलीलाई दिइने छैन । यदि कुनै टोलीले चाँडै अभ्यास समाप्त गरे पनि अर्को टोलीले त्यही पिच प्रयोग गर्न सक्ने छैनन् ।

यस्तै नयाँ दिशानिर्देशअनुसार फ्लडलाइट अन्तर्गत अभ्यास खेलहरूको अवधि अधिकतम साढे तीन घण्टा हुनेछ । प्रत्येक टोलीलाई बीसीसीआईको स्वीकृतिको अधीनमा रही अधिकतम दुई वटा अभ्यास खेल खेल्न अनुमति दिइनेछ । यद्यपि यी खेलहरू मुख्य पिचमा नभई साइड विकेटमा खेलाइनेछ ।

आईपीएलको १९औँ संस्करण मार्च २८ देखि शुरू हुने तालिका छ । उद्घाटन खेलमा साविक विजेता रोयल च्यालेन्जर्स बेङ्गलुरु र सनराइजर्स हैदराबाद खेल्नेछन् । यो खेल बेङ्गलुरुको घरेलु मैदान एम चिन्नास्वामी स्टेडियममा हुनेछ ।

बीसीसीआईले अस्ति आईपीएल २०२६ को पहिलो चरणको तालिका सार्वजनिक गरेको थियो । दोस्रो चरणको तालिका भने पाँच वटा राज्यमा हुने विधानसभा चुनावको मिति घोषणा भएपछि मात्रै सार्वजनिक हुनेछ ।