
काठमाडौं । नेकपा (एमाले)ले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक प्रणालीतर्फका निर्वाचित सांसदको नाम आइतबार मात्रै पठाउने भएको छ ।
अध्यक्ष केपी शर्मा ओली पितृशोकमा परेपछि पार्टीका सबै नेता पशुपति आर्यघाटमा पुगेका कारण निर्वाचन आयोगले पठाएको पत्र पनि हालसम्म कसैले बुझेको छैन् ।
एमालेको निर्वाचन समन्वय संयन्त्रका नेता निरज आचार्यका अनुसार पार्टी अध्यक्ष शोकमा परेको अवस्थामा पत्र आएकै रहेछ भने पनि आज र भोलि केही कुरा नहुने, तर आइतबारसम्म पठाउन सकिने अवस्था छ ।
‘नाम पठाउनुअगाडि नेताहरुले कुनै तहको बैठक वा छलफल गर्नुहोला, त्यसपछि हामीलाई जे निर्देशन आउँछ, त्यही गर्छौँ’, उनले भने ।
निर्वाचन आयोगले राजनीतिक दलहरुबाट प्राप्त हुने समानुपातिक प्रणालीतर्फका निर्वाचित उम्मेदवारको नामलाई अद्यावधिक गर्दै सम्पूर्ण निर्वाचन परिणामसम्बन्धी प्रतिवेदन राष्ट्रपतिसमक्ष पेश गर्नुपर्ने छ । राष्ट्रपतिले उक्त प्रतिवेदन स्वीकृत गरेपछि शपथको तयारी हुन्छ।
एमाले नेता आचार्यले भने, ‘हामी निर्वाचन आयोगको तालिकाभित्रै रहेर काम सम्पन्न गर्नेछौँ ।’


