२०८२ फागुन २९ शुक्रवार , १२:३४:४२ बजे

Sajhamanch
'

बञ्चरेडाँडामा फोहोर विसर्जनमा स्थानीयको फेरि अवरोध

शुक्रवार, फागुन २९, २०८२

नुवाकोट । स्थानीयको अवरोधका कारण बञ्चरेडाँडामा काठमाडौँ उपत्यकाको फोहर विसर्जन रोकिएको छ।

बञ्चरेडाँडा क्षेत्रका बासिन्दाले काठमाडौँ महानगरपालिका र सहरी विकास मन्त्रालयसँग विगतमा भएका सहमति कार्यान्वयन नभएको विरोधमा फोहर फाल्न नदिएका हुन्।

विगतका सहमति कार्यान्वयन नभएसम्म फोहर फाल्न नदिने अडानकासाथ काठमाडौँबाट फोहर बोकेर आएका गाडीलाई फिर्ता पठाइएको स्थानीय निरञ्जन सञ्जेलले बताउनुभयो। उहॉंले भन्नुभयो, ‘पटक–पटक भएका उधारो सहमतिले हामी पीडित भएका छौँ। हाम्रा माग पूरा नभएसम्म अवरोध जारी रहन्छ।’

यसअघि गत कात्तिक १६ गते सहरी विकासमन्त्री कुलमान घिसिङले विगतका सहमति कार्यान्वयन गर्ने प्रतिबद्धता जनाएसँगै फोहर विसर्जनको अवरोध हटेको थियो।

नुवाकोटको ककनी गाउँपालिका १, २ र ३ तथा धादिङको धुनबेँसी नगरपालिका १, ३ र ४ वडाका प्रभावित स्थानीयले दुई जिल्लाको सीमा ढाँडेस्थित सडकमा बसेर फोहर बोकेका गाडीलाई गन्तव्यमा जान दिएका छैनन्। ककनी र बेलकोटगढी तथा धुनीबेँसीका स्थानीय जनप्रतिनिधि र दलका नेताले पनि उनीहरूलाई साथ दिएका छन्।

शुक्रवार, फागुन २९, २०८२ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर