
काठमाडौं । बागलुङको ढोरपाटनमा पहिलोपटक केन्द्रीय विद्युत् प्रसारण लाइन पुगेको छ । भौगोलिक विकटताका कारण अहिलेसम्म त्यहाँ केन्द्रीय लाइन पुग्न सकेको थिएन । स्थानीय बासिन्दा लघुजलविद्युतकै भरमा थिए ।
नेपाल विद्युत् प्राधिकरण बागलुङ वितरण केन्द्रले बुर्तिबाङ बजारबाट झण्डै ३५ किलोमिटर टाढा रहेको ढोरपाटनसम्म ११ केभी लाइन विस्तार गरेको हो । झण्डै १५ करोड रुपैयाँ लागतमा निर्माण गरिएको लाइन हिजोदेखि सञ्चालनमा आएको प्राधिकरणले जनाएको छ ।
यसअघि ढोरपाटन क्षेत्रमा साना जलविद्युत् आयोजनाबाट पर्याप्त विद्युत् नपाउँदा स्थानीयले निकै समस्या भोग्दै आएका थिए । अब केन्द्रीय लाइन पुगेपछि घरघरमा विद्युत् जडान गरिने तयारी भइरहेको छ ।
केन्द्रीय विद्युत् आएपछि स्थानीय बासिन्दा तथा होटल व्यवसायीलाई ठूलो राहत पुग्ने अपेक्षा गरिएको छ ।


