२०८२ फागुन २८ बिहिवार , ०१:४६:४६ बजे

Sajhamanch
'

सुर्खेतमा बालिकाको बलात्कारपछि हत्या गर्नेलाई कडा कारबाही गर्न चौतर्फी दबाब

बिहिवार, फागुन २८, २०८२

सुर्खेत । सुर्खेतमा बालिकाको बलात्कार र हत्या घटनामा संलग्न दोषीलाई कडा कारबाही गर्न चौतर्फी दबाव बढेको छ ।

गएको शनिवार वीरेन्द्रनगरको सुर्खेत शहीद उद्यानको जनजागरण सामुदायिक वनमा बालिकाको बलात्कारपछि हत्या भएको भन्दै घटनामा संलग्न दोषीमाथि कडा कारबाही गर्न दबाव बढेको हो ।

सुर्खेतका विभिन्न सङ्घ–संस्थाहरूले संयुक्त विज्ञप्ति निकालेर यो घटनाले आफूहरूलाई स्तब्ध बनाएको जनाउँदै घटनाको निष्पक्ष छानबिन गर्न तथा दोषीमाथि कारबाही गर्न माग गरेका छन् ।

मानव अधिकार रक्षक सञ्जाल कर्णाली र सुर्खेत, इन्सेक, दलित गैसस महासङ्घ, नवज्योति केन्द्र, एड्भोकेसी फोरम, सीएमसी, महिला मानव अधिकार रक्षक सञ्जाल, आवाज, दलित सेवा सङ्घ, दलित महिला सङ्घ, वाम, सोसेक र मानव अधिकारका लागि महिला एकल महिला समह सुर्खेतले संयुक्त विज्ञप्तिमा हस्ताक्षर गर्दै सत्यतथ्य छानबिन गरी पीडित परिवारलाई उचित न्याय दिनसमेत सम्बन्धित निकायलाई अनुरोध गरेका छन् ।

कर्णाली प्रदेश सरकार मुख्यमन्त्री यामलाल कँडेलले सामाजिक सञ्जाल ‘फेसबुक’ मार्फत पीडित परिवारलाई भेटेर घटनाको निष्पक्ष र कानूनी ढङ्गले छानबिन अनुसन्धान हुने तथा कानूनअनुसार न्याय सुनिश्चित गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।

सरकारका तर्फबाट यस घटनाको सत्यतथ्य बाहिर ल्याउने र कानूनअनुसार कारबाही गर्ने प्रक्रिया स्वतन्त्र र निष्पक्ष रूपमा अगाडि बढाउने भन्दै पीडित परिवारले न्याय पाउनेमा प्रदेश सरकार प्रतिबद्ध रहेको उहाँको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी एवम् प्रहरी नायब उपरीक्षक मोहनजङ्ग बुढ्थापाका अनुसार पीडित पक्षले फागुन २४ गते उजुरी दिएका आधारमा प्रहरीले वीरेन्द्रनगरबाट चार जनालाई अस्ति मङ्गलवार पक्राउ गरी अनुसन्धान थालेको छ । घटनामा संलग्न भएको अभियोगमा पक्राउ परेका चार जनामाथि जबरजस्ती करणी र कर्तव्य ज्यानसम्बन्धी मुद्दा चलाएर अनुसन्धान भइरहेको उहाँले बताउनुभयो ।

वीरेन्द्रनगर नगरपालिका–१ मा बस्दै आएकी १६ वर्षीया बालिकाको शव परिवारजनले अझै बुझेका छैनन् ।

बिहिवार, फागुन २८, २०८२ | मिडियाबाट साभार, समाज