२०८२ फागुन २७ बुधवार , ०३:५८:४३ बजे

Sajhamanch
'

मोटरसाइकल दुर्घटनामा नेपाल प्रहरीका सइको मृत्यु

बुधवार, फागुन २७, २०८२

विराटनगर । विराटनगरमा मोटरसाइकल दुर्घटनामा परेर बुधबार बिहान नेपाल प्रहरीका सइ (प्रहरी नायव निरीक्षक) को मृत्यु भएको छ । अर्का एकजना घाइते भएका छन् ।

मोरङ प्रहरीका सूचना अधिकारी डीएसपी लीलाराज लामिछानेले कोशी प्रदेश प्रहरी तालिम केन्द्र रानी विराटनगरमा कार्यरत सइ ४० वर्षीय मीनबहादुर बोहोराको मृत्यु भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार हिरासत व्यवस्थापन शाखा झापा दरबन्दी भएर विराटनगरको तालिम केन्द्रमा कार्यरत बोहोराले चलाएको मोटरसाइकल विराटनगर महानगरपालिका–४ राजवंशी चोकमा बिहान ७ः३५ बजेतिर दुर्घटनामा परेको थियो ।

राजवंशी चोकबाट भित्री सडक खण्ड भएर नोबेल अस्पतालतर्फ जाँदै गरेको स ७ प ९१५२ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भएर दुर्घटनामा परेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि नोबेल शिक्षण अस्पताल लगिएको थियो । उपचारकै क्रममा बिहान ९ बजेतिर मृत्यु भएको डीएसपी लामिछानेले बताउनु भयो ।

शवलाई पोस्टमार्टमका लागि विराटनगरको कोशी अस्पताल लगिएको छ । दुर्घटनामा मोटरसाइकलको पछाडि सवार उदयपुरको त्रियुगा नगरपालिका–६ का ४१ वर्षीय पेशलकुमार बस्नेत घाइते भएका छन् । मध्यम अवस्थाका उनको नोबेलमै उपचार भइरहेको छ । घाइते बस्नेत मृतक बोहोराको आफन्त हुनसक्ने प्रहरीको अनुमान छ ।

दुर्घटनामा परेको मोटरसाइकललाई नियन्त्रणमा लिएर प्रहरीले घटनाको थप अनुसन्धान गरिरहेको छ ।अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय मोरङका इन्स्पेक्टर लेखनाथ दाहालको नेतृत्वमा टोली खटाइएको डीएसपी लामिछानेले बताउनु भयो ।

सम्बन्धित खबर