
काठमाडौं । गएको बिहीवार भएको प्रतिनिधिसभा सदस्य चुनावको समानुपातिकतर्फ आठ क्षेत्रको मतगणना शुरू हुन बाँकी रहेको छ ।
निर्वाचन आयोगका अनुसार सङ्खुवासभा, इलाम क्षेत्र नम्बर १, अछाम २, बाजुरा, गोरखा १ र २, धनुषा १ र २ गरी आठ क्षेत्रको समानुपातिकतर्फको मतगणना शुरू हुन बाँकी रहेको प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिनुभयो ।
पर्सि बुधवार बिहानसम्म समानुपातिकतर्फको सबै मतगणना भइसक्ने अपेक्षा गरिएको आयोगले जनाएको छ । समानुपातिकतर्फको मतगणना सम्पन्न भएपछि ुथ्रेसहोल्डु पार गरेका दलहरूले प्राप्त गरेका मतका आधारमा आयोगले सम्बन्धित दलको तर्फबाट निर्वाचित हुने सांसदको सङ्ख्या निर्धारण गर्नेछन् ।
निर्धारित सङ्ख्यामा समानुपातिक क्लस्टर अनुसारको प्रतिनिधित्व हुने गरी निर्वाचित हुने सांसदको नाम सिफारिस गर्न आयोगले राजनीतिक दलहरूलाई पत्राचार गर्नेछ । दलहरूले बन्दसूची भित्रबाट नाम सिफारिस गरेपछि त्यो नामावली समावेशी क्लस्टर बमोजिम मिले/नमिलेको रुजु गरी समानुपातिकतर्फका निर्वाचित सांसदको नाम यकिन गरी प्रमाणपत्र उपलब्ध गराइने छ ।
आउँदो चैत ५ गतेभित्र यी सबै काम सम्पन्न गरिसक्ने लक्ष्यसहित आयोगले काम गरिरहेको प्रवक्ता भट्टराईले बताउनुभयो ।


