
झापा । प्रतिनिधिसभा सदस्यको निर्वाचनमा झापाका पाँचवटै निर्वाचन क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवारहरुले विजय हासिल गरेका छन् ।
झापा निर्वाचन क्षेत्र नं. १ मा निशा डाँगीले ४५ हजार ६८० मत प्राप्त गरी निर्वाचित भएकी हुन् । यसअघि समानुपातिक सांसद रहेकी उनी यसपटक प्रत्यक्षतर्फ निर्वाचित भएकी हुन् ।
उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका केशवराज पाण्डेले १० हजार ५५०, श्रम संस्कृति पार्टीका केवलराम राईले १० हजार ४ मत ल्याए । त्यस्तै एमालेका रामचन्द्र उप्रेतीले ७ हजार ६५९, राप्रपाका हेमराज कार्कीले १ हजार ६१२, मंगोल नेशनल अर्गनाइजेसनका सन्तोष तामाङले ९७१ मत ल्याएका छन् ।
यसैगरी क्षेत्र नं. २ बाट इन्दिरा राना मगर ६० हजार ११० मतसहित निर्वाचित भइन् । विघटित प्रतिनिधिसभाका उपसभामुख मगरले सभामुख देवराज घिमिरेलाई हराएकी हुन् ।
२०७९ को निर्वाचनमा समानुपातिक सांसदको रूपमा संसद् छिरेकी मगर यसपटक प्रत्यक्ष निर्वाचनबाट निर्वाचित हुँदै आफ्नो राजनीतिक यात्रालाई दर्बिलो बनाएकी छन् ।
निर्वाचित रानाले एमालेका उम्मेदवार घिमिरेलाई ४८ हजार ७४२ मतान्तरले पराजित गरेकी हुन् ।
तेस्रो भएका श्रम संस्कृति पार्टीका केशवकुमार भण्डारीले ७ हजार २९१ मत पाए । ५ हजार ६१६ मतका साथ कांग्रेसकी सरिता प्रसाईँ चौथो भइन् ।
अघिल्लो निर्वाचनमा दोस्रो भएका राप्रपाका भद्रप्रसाद नेपालले यस पटक पाँचौ स्थानमा चित्त बुझाउनु पर्यो । उनले मात्र ३ हजार ९६६ मत ल्याउन सके । अघिल्लो पटक उनले २६ हजार ४५५ मत पाएका थिए ।
झापा ३ मा प्रकाश पाठकले ३८ हजार ६७४ मत प्राप्त गरी विजय हासिल गरे । उनका निकटतम प्रतिद्वन्द्वी राप्रपाका राजेन्द्र लिङ्देनले १७ हजार २९४ मत पाए ।
त्यस्तै नेपाली काँग्रेसका राजेन्द्र घिमिरेले ८ हजार १९९, एमालेका हरिबहादुर राजवंशीले ७ हजार ४९२, श्रम संस्कृति पार्टीका दीपक तिम्सिनाले ७ हजार ३३९ र नेकपाका डिल्लीराम घिमिरेले एक हजार ४५० मत ल्याएका छन् ।
क्षेत्र ३ मा १ लाख ४० हजार ८५७ मतदाता रहेकोमा ८८ हजार ५६१ मत खसेको थियो ।
यस्तै, क्षेत्र नं. ४ मा शम्भुप्रसाद ढकाल ४३ हजार ६३१ मतसहित निर्वाचित भए । उनले निकटतम प्रतिद्वन्दी एमालेका लालप्रसाद साँवा लिम्बूलाई ११ हजार ९८६ मा नै रोकेर फराकिलो मतान्तरमा विजय प्राप्त गरेका हुन् । २०७९ को निर्वाचनमा पराजित ढकालले यसपटक जीत हात पारेका हुन् ।
यो निर्वाचनको इपिसेन्टर मानिएको झापा ५ बाट रास्वपाका बालेन्द्र शाह (बालेन) ६८ हजार ३४८ मतसहित निर्वाचित भए । उनले पूर्वप्रधानमन्त्रीसमेत रहेका नेकपा एमालेका अध्यक्ष के पी ओलीलाई करिव ५० हजार मतान्तरले विजय हासिल गरेका हुन् ।
एमाले अध्यक्ष ओलीले १८ हजार ७२४ मत प्राप्त गरे । झापा–५ यसवर्षको निर्वाचनमा सबैभन्दा बढी चर्चाको केन्द्रमा थियो । काठमाडौं महानगरका पूर्वप्रमुख बालेन शाहले उम्मेदवारी दिएसँगै यो क्षेत्रमा ओलीसँग हुने प्रतिस्पर्धालाई लिएर चर्चा चुलिएको थियो ।
प्रजातन्त्र बहाली भएपछिको पहिलो आम निर्वाचन २०४८ सालमा नेकपा एमालेले लालकिल्ला बनाएको झापामा २०८२ सालमा आइपुग्दा उदीयमान शक्ति रास्वपाले क्लिनस्वीप गरेको हो । ३४ वर्षपछि झापामा एमालेले पाँचवटै क्षेत्रबाट हार ब्यहोर्नु परेको हो ।
पहिलो संविधान सभाको निर्वाचन २०६४ मा पनि एमालेले झापाको एउटा क्षेत्रमा दिपक कार्कीलाई मात्र विजय गराएको थियो ।


