२०८२ फागुन २३ शनिवार , ०९:४७:३६ बजे

Sajhamanch
'

बाँके २ बाट खाता खोल्यो एमालेले : इश्तियाक विजयी

शनिवार, फागुन २३, २०८२

झापा । प्रतिनिधि सभा सदस्य पदमा बाँके क्षेत्र नं. २ बाट नेकपा (एमाले)बाट उम्मेदवार मोहम्मद इश्तियाक राई २४ हजार ६२८ मत प्राप्त गरी विजयी बनेका छन् । उनको विजयसँगै नेकपा एमालेले संसदमा प्रतिनिधित्व गर्ने पहिलो ब्यक्ति पाएको छ ।

इश्तियाकका निकटतम प्रतिष्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टीका विवेककुमार श्रेष्ठले १८ हजार ५८२ मत प्राप्त गरेका थिए ।

मोहम्मद इस्तियाक २०७९ को निर्वाचनमा पनि क्षेत्र नं. २ बाटै चुनाव लडेका थिए । त्यतिबेला उनी जनता समाजवादी पार्टी (जसपा) नेपालका उम्मेदवार थिए।

कात्तिक २०३६ मा बाँकेमा जन्मिएका राईको राजनीतिक यात्रा २०५३ सालमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट सुरु भएको हो। राई २०६२÷०६३ को जनआन्दोलनताका उपेन्द्र यादव नेतृत्वको मधेशी जनअधिकार फोरम (मजफो) मा प्रवेश गरे।

त्यसको दुई वर्षभित्रै उनी पार्टीको केन्द्रीय सदस्य हुँदै सचिवालय सदस्य र केन्द्रीय सचिव भए। आन्दोलनका क्रममा उनी पटक–पटक गिरफ्तार भएर हिरासतमा बसे।

२०६४ सालको पहिलो संविधानसभा निर्वाचनमा फोरमबाट उम्मेदवारी दिएका उनी बाँके–२ बाट निर्वाचित भए। २०६७ मा झलनाथ खनाल नेतृत्वको सरकारमा उनी श्रम तथा यातायात व्यवस्था मन्त्री बने। २०७० को दोस्रो संविधानसभा निर्वाचनमा भने उनी पराजित भएका थिए।

२०७४ को संसदीय निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएर उनी केपी शर्मा ओली नेतृत्वको सरकारमा शहरी विकास मन्त्री भए। २०७८ मा सर्वोच्च अदालतको परमादेशपछि बनेको शेरबहादुर देउवा नेतृत्वको सरकारमा उनले भौतिक पूर्वाधार तथा यातायात मन्त्रीको जिम्मेवारी सम्हालेका थिए।

गएको वर्षमात्र उनी नेकपा एमालेमा प्रवेश गरेका थिए भने गत मंसीरमा सम्पन्न महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।

सम्बन्धित खबर