
काठमाडौँ । प्रतिनिधि सभा सदस्यमा काठमाडौं १ बाट राष्ट्रिय स्वतन्त्र पार्टीकी रञ्जु दर्शना न्यौपाने विजयी भएर पार्टीको खाता खोलेकी छन् ।
रञ्जुले १५ हजार ४५५ मतसहित विजयप्राप्त गरेकी हुन्। उनी निकट प्रतिष्पर्धीभन्दा ९ हजार ९१ मतान्तरले विजयी भएकी हुन् ।
कांग्रेसका उम्मेदवार प्रबल थापाले ६ हजार ३६४ मत ल्याएका छन् । त्यस्तै तेस्रो स्थानमा राप्रपाका वरिष्ठ उपाध्यक्षसमेत रहेका रवीन्द्र मिश्रले ३ हजार ९७२ मत ल्याए । त्यस्तै एमालेका मोहनराज रेग्मीले १ हजार ६१८ मत ल्याएका छन् ।
आफू निर्वाचित भएको बारे जानकारी गराउँदै उनले आफ्ना मतदातालाई फेसबुकमार्फत धन्यवाद दिएकी छन् । उनले लेखेकी छन्, ‘यो विजय देशको, परिवर्तन पक्षको ।
काठमाडौं क्षेत्र नं १ मा हामीलाई घन्टी चुनाव चिन्हमा मत दिनुहुने सम्पूर्ण मतदाताप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौं,’ उनले भनेकी छन्, ‘हामीलाई शुभकामना दिनुहुने सम्पूर्ण शुभेच्छुक, साथी तथा मतदाताहरू प्रति हार्दिक नमन ।’
उनले आज आफ्नो छोराको न्वारन कार्यक्रम रहेको बताउँदै उक्त कार्यक्रम सकेर क्षेत्रीय निर्वाचन कार्यालय बानेश्वरस्थित सहकारी विभागमा उपस्थित हुने बताएकी छन् ।
उनले चुनाव प्रचारकै क्रममा अस्पताल भर्ना भएर छोरालाई जन्म दिएकी थिइन् । ‘हाल हामी परिवार बाबुको न्वारन कार्यक्रममा छौं। यो सम्पन्न हुनेबित्तिकै बानेश्वर स्थित सहकारी विभागमा हजुरहरूसँगै उपस्थित हुनेछु’ उनले भनेकी छन्, ‘हामी सबै देशप्रेमीहरू त्यहीँ भेटौँ है ।’


