२०८२ फागुन १९ मङ्गलवार , ०३:०३:१४ बजे

Sajhamanch
'

काठमाडौंमा दुईवटा गाडीमा आगजनी, भेटियो दुर्गा प्रसाईंको पर्चा

मङ्गलवार, फागुन १९, २०८२

सांकेतिक तस्वीर

काठमाडौं । प्रतिनिधि सभा निर्वाचनको मौनअवधि सुरू भएपछि काठमाडौंमा दुईवटा गाडीमा आगजनी भएको छ । आज बिहान सुकेधारा र नैकापमा गाडीमा आगजनी भएको हो ।

काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) पवन भट्टराईले सवारी साधनमा भएको आगजनीको पुष्टि गरेका छन् । उहाँका अनुसार सुकेधारा बा ७ च १४०१ र नैकापमा बीएए २८३६ नम्बरको गाडीमा आगजनी भएको हो ।

प्रहरी उपरीक्षक भट्टराईले मंगलबार बिहान ३ बजेतिर गाडीहरूमा आगजनी भएको र आगजनी गरिएको गाडीकै छेउछाउमा दुर्गा प्रसाईंको पर्चा फेला परेको जानकारी दिनुभएको छ ।

‘बिहान ३ बजे आसपास आगजनी भएको हो । घटनास्थल छेउमा दुर्गा प्रसाईंको पर्चा भेटिएको छ’ उहाँले भन्नुभयो, ‘सवारी धनीले हामीलाई यस्तो भएको भन्नुभएको छैन । हामी अनुसन्धान गर्दैछौं ।’

राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति तथा नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंलाई भक्तपुर प्रहरीले फागुन १७ गते भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो । प्रसाईंलाई पाँच दिन हिरासतमा राख्न प्रशासनले अनुमति दिएको छ ।