
बिर्तामोड। झापा क्षेत्र नं २ मा प्रतिनिधि सभा सदस्य पदमा नेकपा एमालेका प्रत्यक्ष तर्फका उम्मेद्वार देवराज घिमिरेले आफूले थालेका अपूरा र अधुरा कार्य सम्पन्न गर्न मतदातासमक्ष अपिल गर्नुभएको छ ।
प्रेस चौतारी नेपाल झापाले आज बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा उम्मेदवार घिमिरेले आफूले झापा क्षेत्र नं २ मा यसअघि सुरु गरेका कतिपय कामहरु अपूरा र अधुरा रहेकाले पूरा गर्नु दायित्वबोध गर्दै पुनः चुनावी मैदानमा होमिनु परेको प्रष्ट पार्नुभएको हो ।
झापा क्षेत्र नं २ का जनताले यसअघि पनि आफूलाई प्रतिनिधि सभा सदस्यमा निर्वाचित गराउनु भएको तर कार्यकाल बाँकी रहँदै संसद भंग भई पुनः निर्वाचनमा होमिनु परेकोले थालेका काम पूरा गर्न पनि आफूले अवसर पाउनु पर्ने उहाँको भनाई छ ।
आफू जनताको घरदैलोमा मत माग्न जाँदा झापा आफूलाई पुनः एकपटक प्रतिनिधि सभामा देख्न चाहेको बताएकाले आफूले चुनाव जितिसकेको उहाँको दावी छ।
झापा क्षेत्र नं. २ का जनताको सुखदुःखमा साथ दिंदै यस क्षेत्रमा विकासको बहार ल्याएको र अझै पनि केही विकास योजना अपूरा र अधुरा रहेको उहाँ बताउनु हुन्छ । ‘नेकपा एमाले नेतृत्वको तत्कालीन सरकारले अगाडि सारेको समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय आकांक्षा पूरा गर्न आज स्पष्ट मार्गचित्र र इच्छा शक्तिको खाँचो रहेको छ’ पूर्व सभामुखसमेत रहनु भएका घिमिरेले भन्नुभयो ‘जुन केवल एमालेले मात्र गर्न सक्छ ।’

राजनीतिक दललाई पुरानो र नयाँ भनेर वर्गाीकरण गर्नु केवल कोटाकेटीपन भएको जिकिर गर्दै उहाँले एमाले नेतृत्वको सरकारले आफ्नो गाउँ आफैं बनाऔं र जेष्ठ नागरिक भत्ताजस्ता सामाजिक सुरक्षाका जगदेखि बाटो, बत्ती, रेल र सुरुङमार्ग हुँदै देशलाई डिजिटल युगमा प्रवेश गराउनेसम्मका दीर्घकालिन महत्वका कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न गरेको उहाँले स्मरण गराउनु भयो ।
उनले २०५६ सालमा राष्ट्रिय सभा सदस्य पनि पूर्ण कार्यकाल काम गर्न नपाएको र प्रतिनिधि सभा सदस्य तथा सभामुख हुँदा पनि पूर्ण काम गर्न नपाएको उहाँको भनाई छ ।
प्रेस चौतारी झापाका अध्यक्ष प्रदीप परियारको अध्यक्षतामा भएको पत्रकार सम्मेलनको सहजीकरण सहसचिव तीलक योन्जनले गर्नुभएको थियो ।


