
काठमाडौं । अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेको धुलिखेलसम्मको १६ किलोमिटर सडक ६ लेनमा विस्तार गर्ने कार्यम ६५ प्रतिशत प्रगति भएको आयोजनाले जनाएको छ ।
दुई खण्डमा निर्माण भइरहेको सडकको साँगा–धुलिखेल खण्डमा कालोपत्रबाहेकको भौतिक प्रगति ९० प्रतिशत पुगेको छ भने सूर्यविनायक–साँगा खण्डमा ४५ प्रतिशत काम सकिएको आयोजना प्रमुख विजयकुमार महतोले बताउनुभएको छ ।
आयोजनाको म्याद सकिएपछि एक वर्ष थपेर कालोपत्रलगायत बाँकी कार्यलाई तीव्रता दिइएको उहाँले बताउनुभयो । साँगा क्षेत्रमा घुम्ती र भिरको कारण काम गर्न कठिनाइ परेको छ भने पुलबजार क्षेत्रमा सेन्टर लाइनको विवादले डेढ वर्षसम्म काम रोकिएको थियो ।
यसका साथै पुरातत्व विभागले यस सडकखण्डमा पर्ने साँगाको पोखरी, मन्दिर, ढुङ्गेधारालगायत आठ ऐतिहासिक सम्पदाको संरक्षण गर्न आग्रह गरेको छ । सम्पदा स्थानान्तरण र संरक्षणको विषयमा स्थानीय जनप्रतिनिधिसँग छलफल जारी रहेको आयोजनाले जनाएको छ ।
मध्यपहाडी क्षेत्रको गौरवको आयोजनाका रूपमा लिइएको यस सडकले सङ्घीय राजधानी काठमाण्डौबाट पूर्वी मध्यपहाडी तथा तराई क्षेत्रसम्म यातायात सहज बनाउने अपेक्षा छ ।


