
झापा । नेकपा (एमाले)का उपमहासचिव योगेश भट्टराईले देशलाई मियो बिनाको दाइँ हुनबाट रोक्न नेकपा एमालेको जित अवश्यक रहेको बताउनु भएको छ ।
झापा–५ को दमकमा प्रेस चौतारी नेपालले गरेको पत्रकार भेटघाटमा उहाँले राष्ट्रिय र अन्तराष्ट्रियरुपमा विकसित चुनौती सामना गर्नसक्ने राजनीतिक शक्तिले आगामी निर्वाचन जित्न जरुरी रहेको बताउनु भयो ।
चुनावी मैदानमा देखिएका कतिपय उम्मेदवारका कारण देशमा झनै अस्थिरता निम्त्याउन खोजिएको देखिएको भन्दै उहाँले त्यस्ता पात्रका कारण देश मियो बिनाको हुने जोखिम रहेकाले त्यो अवस्था आउन नदिन एमाले र अध्यक्ष केपी शर्मा ओलीको जित जरुरी रहेको दाबी गर्नुभयो ।
देशलाई जुवाको अखडा बनाउन खोज्ने केही उम्मेदवार र दल पनि चुनावमा देखियो भन्दै भट्टराईले उनीहरुमा जिते छाति पिट्ने र हारे निरास हुनेबाहेक कुनै उद्देश्य नरहेको बताउनु भयो ।
जेन्जी आन्दोलनको क्षतिको दोष जबर्जस्त एमालेमा थुपार्न खोजिएको भन्दै उहाँले आन्दोलन देश ध्वस्त बनाउने कार्यामा संलग्नहरु चुनावमा कुन नैतिकताले उम्मेदवार बनेका छन् भनेर प्रश्न गर्नुभयो ।


