२०८२ फागुन १८ सोमवार , १२:४७:३० बजे

Sajhamanch
'

थकाली समुदायमा ‘तोरनल्ह’ पर्व को रौनक

सोमवार, फागुन १८, २०८२

म्याग्दी । म्याग्दी र मुस्ताङमा बसोबास गर्ने अल्पसङ्ख्यक थकाली समुदायमा तोरन ल्ह अर्थात् (फागुपूर्णीमा) पर्वको रौनक छाएको छ ।

नेपालका विभिन्न क्षेत्रमा ११ हजारको सङ्ख्यामा बसोबास गर्ने थकाली समुदायले हरेक वर्ष फागुपूर्णिमाको अवसरमा परम्परागत तोरन ल्ह पर्व मनाउने गर्दछन् ।

फागुपूर्णिमाको अघिल्लो दिन शुरु हुने तोरनल्ह तीन दिनसम्म मनाउने चलन रहेको थकाली सेवा समिति बेनी क्षेत्रका अध्यक्ष सुन्दरमान शेरचनले बताउनुभयो । मुस्ताङको थासाङ गाउँपालिकाको कोवाङ थकाली समुदायको उद्गमस्थल मानिन्छ ।

घरपझोङ र थासाङ गाउँपालिकामा थकाली समुदायको बाहुल्य बसोबास छ । म्याग्दीको दाना, भुरुङ तातोपानी, बेनी, दरवाङलगायत बजार क्षेत्रमा थकाली समुदायको बसोबास छ । तोरन ल्ह मनाउन घरबाहिर र विदेशमा रहेका थकाली समुदाय आफ्नो जन्मथलो फर्किएका छन् । तोरन ल्हमा थकाली समुदायले घर सिगारपटार गरेका छन् ।

तोरन्ल्ह पर्वको अवसरमा थकाली समुदायका पुरुष परम्परागत तारो हान्ने खेल खेलेर रमाइलो गर्दछन् । महिला भने मौलिक वेषभूषामा सजिएर नाचगान गर्ने, गोटा खेल्ने र शुभकामना साटासाटा गरेर तोरन्ह मनाउँछन् । थकाली सेवा समिति बेनी क्षेत्रको आयोजनामा बेनीमा हिजोदेखि तारो हान्ने प्रतियोगिता शुरु भएको छ ।

यसवर्ष चुनावको समय भएकाले निर्वाचन आचारसंहिताको पालना गरेर थकाली समुदायका सदस्य मात्र भेला भएर तोरन्लह पर्व मनाउन लागिएको थकाली सेवा समितिका शङ्करमान शेरचनले बताउनुभयो ।

सम्बन्धित खबर