२०८२ फागुन १७ आइतवार , १०:०६:२६ बजे

Sajhamanch
'

झापा क्षेत्र नं. ३ मा मतदाताको समर्थनले एमाले उत्साहित

आइतवार, फागुन १७, २०८२

भद्रपुर । घरदैलो अभियान अन्तिम चरणमा पुर्याएको नेकपा एमाले झापा निर्वाचन परिचालन समितिले क्षेत्र नं. ३ मा मतदाताबाट प्राप्त समर्थनले आफूहरू उत्साहित भएको जनाएको छ ।

आज भद्रपुरमा प्रेस चौतारी झापाले आयोजना गरेको उम्मेदवारसँग पत्रकार कार्यक्रममा एमालेले झापा–३ का मतदाताले विगतका कमजोरी सच्याउने अवसर आएको भन्दै पार्टीको विजय सुनिश्चित हुने जनाएको छ ।

एमालेका उम्मेदवार हरिबहादुर राजवंशीले मतदाताको माया र विश्वासले आफू थप उत्साहित बनेको बताउँदै झापा–३ का मतदाताले एमालेप्रति ठूलो भरोसा व्यक्त गरेको सुनाउनु भयो ।

राजवंशीले सो क्षेत्रका नागरिकहरूले पूर्वाधार विकासमा विभेद भएको गुनासो गरेको उल्लेख गर्दै एमालेले विकासमा कसैलाई पनि विभेद नगर्ने स्पष्ट पार्नुभयो । विकासमा पछि परेको झापा–३ लाई माथि उठाउन मतदाताले एमालेमा मतदान गर्ने विश्वास व्यक्त गर्दै उहाँले घरदैलोका क्रममा अधिकांश मतदाताले विकास नपाएको गुनासो गरेको उहाँले जानकारी दिनुभयो ।

नेपालकै भूमिमा पुग्नसमेत भारतीय बाटो प्रयोग गर्नुपर्ने बाध्यता रहेको सुनाउँदै उहाँले आगामी दिनमा यस्ता समस्याको समाधान गरिने प्रतिबद्धता जनाउनु भयो । झापा–३ मा व्यापक विकासको आवश्यकता औंल्याउँदै घरदैलोका क्रममा संकलित जनताका सबै समस्या सम्बोधन गर्ने उहाँले पत्रकार सम्मेलनमार्फत वाचा पनि गर्नुभयो ।

अघिल्लो निर्वाचनमा राप्रपालाई सहयोग गर्नुपरेकोप्रति हजारौं मतदाता असन्तुष्ट रहेको उल्लेख गर्दै एमालेले यसपटक आफ्नै उम्मेदवार उठाएर विगतको बाध्यता अन्त्य गरेको जनाएको छ ।

एमालेका पूर्व केन्द्रीय सदस्य राजवंशीले भन्नुभयो, “हामी कसैको विरोध गर्न आएका होइनौं । जनताको माया र साथले एमाले निकै उत्साहित भएको छ ।”

पत्रकार सम्मेलनमा कृषि र पर्यटनको ठूलो सम्भावना बोकेको भए पनि क्षेत्र ओझेलमा परेको मतदाताको गुनासो एमालेले सम्बोधन गर्दै जाने बताइएको थियो ।

निर्वाचन परिचालन समितिका संयोजक बसन्त बानियाँले झापा–३ मा एमालेले १२ वर्षपछि आफ्नै उम्मेदवार पाएको बताउनु हुँदै वर्षौंदेखिको पीडामा रहेको क्षेत्रलाई फागुन २१ को निर्वाचनले न्याय दिने धारणा राख्नुभयो ।

एमालेले पार्टीभित्रैबाट उम्मेदवार पाउनुपर्ने माग गरेपछि हरिबहादुर राजवंशीलाई टिकट दिइएको स्पष्ट पार्दै उहाँले यसपटक कुनै पनि दलसँग तालमेल नगरिएको पनि प्रष्ट पार्नुभयो ।

एमाले शान्तिपूर्ण र भयरहित निर्वाचनको पक्षमा रहेको उहाँको भनाइ छ । पत्रकार सम्मेलनमा समानुपातिकतर्फका उम्मेदवार जीतु गौतम, परिचालन समितिका पदाधिकारी, सदस्य तथा पार्टीका नेता–कार्यकर्ताको बाक्लो उपस्थिति थियो ।

सम्बन्धित खबर