
काठमाडौं । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले चुनावमा नगद चलखेल भएको पाइए कडा कारबाही हुने चेतावनी दिनुभएको छ ।
आज नेपाल प्रेस काउन्सिलले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा बोल्दै उहाँले मौन अवधिमा चुनावका सामग्री र नगद एकैठाउँमा बरामद भए त्यस्ता उम्मेदवारको उम्मेदवारीनै खारेज हुने चेतावनी दिनुभएको हो ।
कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले चुनावमा नगद चलखेल भए आउँदो ६ वर्षसम्म त्यस्ता उम्मेदवारहरुले चुनावको कुनै पनि प्रक्रियामा भाग लिन नपाउने व्यवस्था गरिएकोतर्फ पनि सचेत गराउनुभयो । उहाँले नगद चलखेल गर्ने उम्मेदवार विजयी भएको घोषणा भए पनि उनीहरुको उम्मेदवारी खारेज हुने पनि स्पष्ट पार्नुभयो ।
कार्यबाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले आयोगले निर्वाचन आचारसंहिताको परिपालनामा शुन्य सहनशीलताको नीति लिएको पनि बताउनुभयो । उहाँले मौन अवधिमा पनि निर्वाचन आचारसंहिताको पालना गराउने काममा सञ्चार माध्यामहरुले महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास समेत व्यक्त गर्नुभयो ।


