२०८२ फागुन १७ आइतवार , ०५:०३:२५ बजे

Sajhamanch
'

मध्यपूर्व तनाव : काठमाडौंबाट हुने अन्तर्राष्ट्रिय उडान प्रभावित

आइतवार, फागुन १७, २०८२

काठमाडौं । अमेरिका र इजरायलले इरानमा आक्रण गरेपछि उत्पन्न परिस्थितीका कारण मध्यपूर्वका देशहरूले आफ्नो हवाई क्षेत्र बन्द गरेपछि नेपाल र खाडी देशहरुबीचको हवाई सेवा प्रभावित भएको छ ।

कतार, संयुक्त अरब इमिरेट्स (यूएई), कुवेत, इरान, इराक, इजरायल, जोर्डन, लेबनान र बहराइनले आफ्नो हवाइक्षेत्र बन्द गरेका हुन् ।

हवाई क्षेत्र बन्दको प्रभावका कारण काठमाण्डौबाट खाडी तथा क्षेत्रीय गन्तव्यहरूमा सञ्चालन हुने उडानहरू प्रभावित भएका हुन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलका अनुसार साउदीको दमाम र रियाध, यूएईको दुबई, शारजाह र आबुधाबीमा आजका लागि तय उडान रद्द भएका छन् ।

कतार एयरवेज र इतिहाद एयरलाईन्सले अर्को सूचना नभएसम्मका लागि सबै उडान स्थगीत गरेका छन् । उडानहरु अबरुद्ध हुँदा विदेश जाने नेपालीसहित अन्य देशका नागरिक काठमाण्डौमा रोकिएका छन् । हिजो अस्तव्यस्त बनेको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज पनि यात्रुहरूको बाक्लो उपस्थिति देखिएको छ ।

मध्यपूर्वबाहेक अरू देश जाने यात्रुहरू विमानस्थल प्रवेश गरेका छन् । इरान–इजरायल युद्धको प्रभाव मध्यपूर्वका धेरैजसो देशमा पर्दा नेपालमा पनि त्यसको असर देखिएको हो । मध्यपूर्वमा विशेषगरी खाडीका देशमा नेपालीहरु रोजगारीका लागि जाने गरेका छन् ।

सम्बन्धित खबर