
हुम्ला । हुम्लाका चार वटा मतदान केन्द्रमा खटिएका कर्मचारी र मतपत्रलगायतका सामग्री हेलिकप्टरबाट ढुवानी हुने भएको छ ।
नाम्खा गाउँपालिका–६ को हिमालपारिको गाउँ लिमीको भृकुटी आधारभूत विद्यालय जाङ, सुनखानी आधारभूत विद्यालय हल्जी, हिमशिखर आधारभूत विद्यालय तील र नाम्खा गाउँपालिका–४ को हिमालय आधारभूत विद्यालय चाला मतदान केन्द्रमा खटिएका कर्मचारी र मतपत्रलगायतका सामग्री हेलिकप्टरबाट ढुवानी गरिने प्रमुख जिल्ला अधिकारी टेककुमार रेग्मीले जानकारी दिनुभयो ।
उहाँका अनुसार यी चार वटै मतदान केन्द्रमा हिमपातले यातायात सेवा अवरुद्ध भएका कारण कर्मचारी, नेपाली सेना, निर्वाचन प्रहरी, नेपाल प्रहरीसहितका सुरक्षाकर्मी र मतपत्रलगायतका सामग्री आज र भोलि गरी दुई दिनमा हेलिकप्टरबाटै ओसारिने बताउनुभयो ।
लिमी जाने दुई नाका नारा र न्यालु लेकको सडकमा हिउँ जमेका कारण बन्द भएकाले आयोगले हेलिकप्टर प्रयोग गर्न लागेको हो । त्यसैगरी चाला जाने बाटोमा पनि हिउँ जमेर घोडेटो बाटो अवरुद्ध भएकाले हेलिकप्टरको व्यवस्था गर्न लागिएको छ ।


