२०८२ फागुन १७ आइतवार , १२:०९:२८ बजे

Sajhamanch
'

राजनीतिक दलद्वारा मध्यपूर्वमा रहेका नेपालीको सुरक्षामा ध्यान दिन सरकारसँग आग्रह

आइतवार, फागुन १७, २०८२

काठमाडौं । विभिन्न राजनीतिक दल र दलका नेताहरूले मध्यपूर्वमा रहेका नेपालीको सुरक्षामा ध्यान दिन सरकारसँग आग्रह गरेका छन् ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी (नेकपा), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायत राजनीतिक दलले मध्यपूर्वमा उत्पन्न भएको पछिल्लो तनावपूर्ण अवस्थाप्रति चिन्ता व्यक्त गर्दै नेपालीको सुरक्षामा ध्यान दिन सरकारसँग आग्रह गरेका हुन् ।

कांग्रेस सभापति गगन थापा, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, रास्वपा सभापति रवि लामिछानेलगायतले मध्यपूर्व क्षेत्रमा विकसित पछिल्ला घटनाक्रमकाबीच खाडीका देशमा कार्यरत नेपाली नागरिकको सुरक्षा र हितलाई सर्वोच्च प्राथमिकतामा राख्न सरकारसँग आग्रह गर्नुभएको हो । उहाँहरूले ती देशमा कार्यरत लाखौँ नेपालीको जीवन, रोजगारी र सुरक्षाप्रति सरकारको ध्यानाकर्षण गराउँदै अवस्थाबारे नियमित र तथ्यगत जानकारी सार्वजनिक गर्न सरकारसँग आग्रह गर्नुभएको छ ।

अमेरिका र इजरायलले इरानमाथि सैन्य आक्रमण गरेका छन् । त्यसको जवाफमा इरानले पनि मध्यपूर्वमा रहेका विभिन्न देशको अमेरिकी सैन्य अखडामा आक्रमण गरेको छ ।

यसैबीच नेपाल सरकारले इजरायल र इरानमा रहेका नेपालीलाई घरभित्रै बस्न र सुरक्षित रहन अनुरोध गरेको छ । परराष्ट्र मन्त्रालयले ‘ट्राभल एड्भाइजरी’ मार्फत् सम्बन्धित निकायले जारी गरेका सुरक्षा सतर्कता तथा निर्देशनको पूर्ण पालना गर्न पनि अनुरोध गरेको छ । इजरायल वा इरान भ्रमण गर्ने योजना बनाइरहेका नेपाली नागरिकलाई अहिलेको अवस्था सामान्य नभएसम्म यात्रा स्थगित गर्न मन्त्रालयले आग्रह गरेको छ ।

सम्बन्धित खबर