
काठमाडौं । नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको भाउ बढेको भए पनि नेपालमा यथावत् नै रहेको जनाएको छ । निगमले विज्ञप्तिमार्फत् उपभोक्तालाई राहत दिने उद्देश्यले पुरानै मूल्यलाई यथावत् राखिएको जनाएको छ ।
निगमकाअनुसार पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ ९ पैसा, डिजेलमा २ रुपैयाँ ४७ पैसा, खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर १८ रुपैयाँ ५८ पैसा मूल्य बढेर आएको थियो ।
अहिले चारआली, विराटनगर, वीरगञ्ज, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगञ्ज र धनगढी क्षेत्रमा पेट्रोलको भाउ प्रतिलिटर १५४ रुपैयाँ ५० पैसा, त्यस्तै डिजेल र मट्टीतेलको भाउ लिटरको १३९ रुपैयाँ ५० पैसा छ ।
यस्तै सुर्खेत र दाङ क्षेत्रमा पेट्रोलको भाउ १५६ रुपैयाँ प्रतिलिटर तथा डिजेल र मट्टीतेलको भाउ १४१ रुपैयाँ प्रतिलिटिर अनि काठमाडौं, पोखरा र दिपायल क्षेत्रमा पेट्रोलको भाउ १५७ रुपैयाँ प्रतिलिटर तथा डिजेल र मट्टीतेलको भाउ लिटरको १४२ रुपैयाँ रहेको छ ।


