२०८२ फागुन १७ आइतवार , १२:१०:२१ बजे

Sajhamanch
'

काठमाडौंबाट मध्यपूर्वमा हुने उडान स्थगित, त्रिभुवन विमानस्थलमा यात्रु अलपत्र

आइतवार, फागुन १७, २०८२

काठमाडौं । मध्यपूर्व क्षेत्रमा विकसित हुँदै गएको सुरक्षा तथा राजनीतिक परिस्थितिका कारण विभिन्न देशहरूले हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेका छन् ।

हवाई उडानमा प्रतिबन्ध लगाइएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सात वटा अन्तर्राष्ट्रिय विमानस्थलमा हुँदै आएका अन्तर्राष्ट्रिय उडान पनि रद्द भएका छन् ।

यूएईको आबुधाबी, शारजहा, दुबई तथा कतारको दोहा, कुबेत सिटी, कतार तथा दमाम विमानस्थलमा हवाई उडानमा प्रतिबन्ध लगाइएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिजो दिउँसो र रातिका सबै उडान रद्द भएका हुन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार यी विमानस्थलमा हवाई उडानमा प्रतिबन्ध लगाइएकाले नेपालबाट हुने सबै उडान रद्द गरिएका छन् । उडानहरू कहिले खुल्छन् भन्नेबारे अर्को निर्णय भएपछि जानकारी गराइने विमानस्थलले जनाएको छ ।

यात्रुलाई आफ्नो उडानका लागि विमानस्थल जानुभन्दा अगाडि सम्बन्धित वायुसेवा कम्पनीमा सम्पर्क गरेर मात्र जान विमानस्थल कार्यालयले आग्रह गरेको छ । उडान रद्द हुँदा मध्यपूर्वका विभिन्न क्षेत्रमा जान लागेका यात्रु विमानस्थलमा अलपत्र परेका छन् ।

नागरिक उड्डयन प्राधिकरणले यात्रुलाई आफ्ना वायुसेवाका आधिकारिक च्यानलमार्फत जानकारी लिन आग्रह गरेको छ ।