
झापा । झापा क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार देवराज घिमिरेले महाकाली सन्धीका विषयमा उठिरहेका जिज्ञासाबारे स्पष्ट पार्नुभएको छ । सामाजिक सञ्जाल तथा व्यक्तिगत रूपमा सोधिएका प्रश्नलाई लिएर उहाँले आफूले उक्त सन्धीमा कुनै पनि रूपमा हस्ताक्षर नगरेको दोहोर्याउनु भएको हो ।
घिमिरेले आज जारी गर्नुभएको विज्ञप्तिमा महाकाली सन्धीबारे आफू स्पष्ट रहेको र उठेका प्रश्नहरूको जवाफ दिइरहेको उल्लेख गर्नुभएको छ । सन्धीलाई लिएर भ्रम फैलाउने प्रयास भएको भन्दै उहाँले घृणाको राजनीति नगरी अध्ययन र विश्लेषण गर्न सम्बद्ध पक्षलाई आग्रह पनि गर्नुभएको छ ।
केही दिनअघि एक व्यक्तिले भिडियो खिचेर सोही विषयमा प्रश्न गरेको सन्दर्भ उल्लेख गर्दै घिमिरेले उक्त गतिविधि नियोजित भएको थाहा पाएपछि आफूले जवाफ नदिएको प्रष्ट पार्नुभएको छ । अहिले उक्त भिडियो अमुक दलको प्रचार सामग्रीका रूपमा प्रयोग भएको उहाँको बुझाई छ ।
“कुनै पनि सन्धीमा मैले हस्ताक्षर गरेको छैन । त्यस समयमा म सांसद, मन्त्री वा राज्यको कुनै पनि जिम्मेवारीमा थिइनँ” विज्ञप्तिमा घिमिरेले भन्नुभएको छ । आफूले लोकतान्त्रिक पार्टीभित्र भएको बहसमा व्यक्तिगत धारणा मात्रै राखेको र त्यसमा पक्ष–विपक्षमा धेरै नेताले विचार राखेको उहाँको स्पष्टोक्ति छ ।
पार्टीको वैकल्पिक केन्द्रीय सदस्यले छिमेकी देशसँग सन्धी गर्ने हैसियत नै नहुने भन्दै यस्तो आरोप लगाइनु दुःखद भएको घिमिरेले उल्लेख गर्नुभएको छ । घिमिरेले आफू ५० वर्षदेखि राजनीतिमा सक्रिय रहेको बताउँदै राजनीति आफ्नो लागि सेवा भएको पनि विज्ञप्तिमा उल्लेख गर्नुभएको छ । बिनाश्रमको एक रुपैयाँ पनि नलिएको र ओहोदा वा प्राप्तिका लागि राजनीति नगरेको उहाँको भनाइ छ ।
तीन वर्षअघि प्राप्त जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गरेको दाबी गर्दै घिमिरेले झापा क्षेत्र नं. २ का मतदातालाई विगत तथा पछिल्लो तीन वर्षको आफ्नो कामको निष्पक्ष मूल्यांकन गर्न आग्रह गर्नुभएको छ । आफूबाट कहीँ त्रुटी भेटिए विनम्रतापूर्वक स्वीकार गर्न तयार रहेको उहाँले विज्ञप्तिमार्फत जनाउनु भएको छ ।


