२०८२ फागुन १५ शुक्रवार , ११:४३:४२ बजे

Sajhamanch
'

शुक्लाफाँटामा पहिलो पटक मदना चाँचर चरा देखियो

शुक्रवार, फागुन १५, २०८२

काठमाडौं । जैविक विविधताले भरिपूर्ण कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा पहिलोपटक मदना चाँचर चरा देखा परेको छ ।

विशेषगरी मध्यपहाडी र हिमाली वन क्षेत्रमा पाइने यो चरा तराईको समथर क्षेत्रमा पाइनुलाई संरक्षणका हिसाबले महत्वपूर्ण मानिएको छ ।

यस चरालाई पहिलोपटक निकुञ्जमा नेपाल पन्छी संरक्षण सङ्घ (विसिएन)का वरिष्ठ चराविज्ञ हिरूलाल डगौरा, दिलीप चन्द ठकुरी, सुमन चौधरी, डा. विकल्प पाण्डेलगायत टोलीले निकुञ्जमा चरा अवलोकनका क्रममा अभिलेख गर्नुभएको हो । ‘मदना चाँचर’ को वैज्ञानिक नाम टर्डस बुबुल रहेको छ । यो थ्रस (चाँचर) परिवारमा पर्ने चरा हो ।

अन्तर्राष्ट्रिय प्रकृति संरक्षण सङ्घ (आइयुसिएन)ले यसलाई विश्वस्तरमा ‘कम चिन्ताजनक’ अर्थात् सामान्य श्रेणीमा राखेको भएपनि शुक्लाफाँटाका लागि भने यो विल्कुलै नयाँ र दुलर्भ प्रजातिका रूपमा रहेको चराविज्ञ डगौराले बताउनुभयो । उहाँका अनुसार यो चरा मुख्यतः मध्यपहाडी र हिमाली क्षेत्रका आद्र्र वनमा बस्ने गर्छ ।

सामान्यतया १८०० देखि २७०० मिटर उचाइमा पाइने यो प्रजाति जाडोयाममा केही तल झर्न सक्छ । तर तराईको समथर भूभागमा देखिनुलाई असामान्य मान्न सकिने चराविज्ञ डगौराले बताउनुभयो ।

मदना चाँचर झण्डै २८–२९ सेन्टिमिटर लामो हुन्छ । भाले चरा कालो रङको र पखेटामा खैरो दाग भएको देखिन्छ भने पोथी चरा खैरो रङको हुन्छ । भालेको चुच्चो पहेँलो र पोथीको हल्का पहेँलो वा खैरो हुन्छ । शुक्लाफाँटामा यो नयाँ पाहुनाको आगमनसँगै निकुञ्जमा पाइने चराहरूको सङ्ख्यामा थप वृद्धि भएको छ ।

पहाडी क्षेत्रको यो चरा शुक्लाफाँटामा अभिलेख भएसँगै यस निकुञ्जलाई चरा अवलोकन र वैज्ञानिक अनुसन्धानको दृष्टिले अझ महत्वपूर्ण गन्तव्यका रूपमा स्थापित गर्न मद्दत पुग्ने विश्वास गरिएको छ ।

शुक्रवार, फागुन १५, २०८२ | मिडियाबाट साभार, समाज

सम्बन्धित खबर