२०८२ फागुन १४ बिहिवार , ०१:३४:०१ बजे

Sajhamanch
'

झापामा तीन मतदान केन्द्रको नेतृत्व महिलालाई

बिहिवार, फागुन १४, २०८२

झापा । आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि झापा क्षेत्र नम्बर ३ को तीन मतदान केन्द्रको नेतृत्व महिलाले पाएका छन् ।

भद्रपुर नगरपालिका–८ स्थित मेची रङ्गशालामा रहेको मतदानस्थलका तीन मतदान केन्द्रको नेतृत्व महिलालाई सुम्पिएको मुख्य निर्वाचन कार्यालयका सहायक निर्वाचन अधिकारी डिल्लीप्रसाद प्रसाईले जानकारी दिनुभयो ।

उहाँले रङ्गशालामा तीन मतदान केन्द्र रहेका बताउँदै भन्नुभयो, “यहाँको मतदान अधिकृतदेखि कर्मचारी, प्रहरीसमेत महिलालाई तोकिएको छ ।” उहाँका अनुसार मतदानस्थलको ‘क’ केन्द्रको बुथमा मतदान अधिकृतको रुपमा घरेलु तथा साना उद्योग कार्यालय भद्रपुरकी प्रमुख पुष्पलता उप्रेती रहनुभएको छ भने सहायक मतदान अधिकृतमा प्रतिक्षा घिमिरे हुनुुहुन्छ ।

‘ख’ केन्द्रको बुथमा मतदान अधिकृतको रुपमा विशेष नापी कार्यालय दमककी सृजना पन्त रहनुभएको छ भने सहायक मतदान अधिकृतमा जुनु पोखरेल रहनुभएको छ । ‘ग’ केन्द्रको बुथमा भद्रपुर नगरपालिकाकी गोमा दाहाल हुनुहुन्छ भने सहायकमा प्रतिमा राई रहनुभएको उहाँले जानकारी दिनुभयो ।

जिल्ला निर्वाचन कार्यालयका पाँच वटै निर्वाचन क्षेत्रका मतदान अधिकृतहरुलाई धमाधम निर्वाचनसम्बन्धी अभिमुखीकरण तालिम प्रदान गरिरहेको कार्यालयमा प्रमुख तुलसी नेपालले बताउनुभयो ।

झापामा सात लाख १३ हजार ५३७ जना मतदाता, ८१५ मतदान केन्द्र र २८५ मतदानस्थल रहेका छन् । यहाँ ८१५ मतदान अधिकृतसहित चार हजार ९३६ जना कर्मचारी खटाइएको उहाँको भनाइ छ ।

निर्वाचनलाई निष्पक्ष, भयरहित र व्यवस्थित बनाउन जिल्लाका २८५ वटै मतदानस्थलमा सुरक्षा व्यवस्था कडा पारिएको र कर्मचारीहरू धमाधम कार्यक्षेत्रमा खटिने क्रम सुरु भएको कार्यालयले जनाएको छ ।

सम्बन्धित खबर