
काठमाडौं । नेपाली कांग्रेसले आज (बिहीबार) सुर्खेत र बाँकेमा चुनावी सभा गर्दैछ । आसन्न प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरेर कांग्रेसले सुर्खेत र बाँकेमा चुनावी सभा गर्न लागेको हो ।
कांग्रेस सर्खेतका सभापति खड्गबहादुर पोखरेलले मध्याह्न साढे १२ बजेपछि चुनावी सभा हुन गइरहेको जानकारी दिनुभयो । उहाँले चुनावी सभा वीरेन्द्रनगर नगरपालिकास्थित घण्टाघर डबलीमा आयोजना गरिएको बताउनु भयो ।
जिल्ला सभापति पोखरेलका अनुसार चुनावी सभालाई सभापति गगनकुमार थापा र उपसभापति पुष्पा भुसालले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । सुर्खेतको चुनावी सभा पछि आजै बाँके(३ मा पर्ने जानकी गाउँपालिका–३ मानपुरमा पनि कांग्रेसको चुनावी सभा हुँदैछ ।
बाँके(३ का उम्मेदवारसमेत रहेका प्रदेश सभापति अमरसिंह पुनको सचिवालयले दिउँसो १ः३० बजे मानपुरमा चुनावी सभा हुन गइरहेको पुष्टि गरेको छ । पुनका स्वकीय सचिव अनुपम जीसीका अनुसार मानपुरको चुनावी सभालाई सभापति थापाले सम्बोधन गर्नु हुने छ ।
कांग्रेसले शुक्रबार रूपन्देहीको बुटवलमा पनि चुनावी सभा गर्ने तयारी गरेको छ ।


