
गौरीगञ्ज । गौरीगञ्ज गाउँपालिका वडा नं. ४ को बारसुदीका मतदाताले आफ्नो गाउँनै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई उपहार दिएको जनाएका छन् ।
बुधबार मतदातासँगको भेटका लागि बारसुदी टोल पुग्नु भएका पूर्वप्रधानमन्त्री ओलीको हातबाट टिका लगाएर एमालेमा प्रवेश गर्दै उनीहरुले अब यो गाउँनै एमाले र ओलीलाई जिम्मा लगाएको बताएका हुन् । उक्त गाउँमा रहेका ४५० मतदातामध्ये ४०० जना आज एकसाथ एमाले प्रवेस गरेका हुन । ५० जना पहिलेदेखि नै एमालेका कार्यकर्ता थिए ।
एमालेमा प्रवेश गरेपछि स्थानीय अगुवा गयानन्द यादवले यहाँका कोही पनि मतदाताले अब सूर्य बाहेक अन्यत्र मतदान नगर्ने र सब एमालेको विजयको पक्षमा लाग्ने विश्वास दिलाउनु भयो ।
उहाँले भन्नुभयो, ‘अब यो गाउँनै तपाईलाई उपहार दिएका छौं, यो ठाउँमा के के विकास गर्ने, कस्तो बनाउने, हामीलाई के के सुविधा दिने हो, अब सबै तपाईंको जिम्मा भो ।’
ठूला सहरहरु दमक तथा विराटनगरभन्दा टाढा रहेको उक्त क्षेत्रमा निर्माण भएको पक्कि हुलाकी राजमार्ग, पाडाजुङ्गी–गौरीगञ्ज सडकको विस्तार र कालोपत्रे, अन्य भित्री सडकहरुको पनि स्तरीकरण, विद्युत सेवाको उपलव्धता लगायतका कारण धेरै सुविधा प्राप्त भएको स्थानीय मन्दुदेवी यादवको भनाई छ ।
कृषि उपजलाई बजारसम्म लैजान, स्वास्थ्य उपचारका लागि अस्पताल जान, बिहान सहरमा गएर रोजगारी गरी साँझ घरैमा आइपुग्न अचेल सजिलो भएको स्थानीयको भनाई छ ।
आसन्न् प्रतिनिधि सभा निर्वाचनका लागि झापा क्षेत्र नं. ५ का प्रत्यक्षतर्फका उम्मेद्वार एमाले अध्यक्ष ओली केही दिनयता आफ्नै गृहक्षेत्रमा व्यस्त रहनु भएको छ । ओली २०४८ सालको निर्वाचनदेखिनै यही निर्वाचन क्षेत्रबाट चुनाव लड्दै आउनु भएको छ ।
झापा क्षेत्र नम्बर ५ मा कमल गाउँपालिकाका सबै ७ वटा वडा, गौरादह नगरपालिकाको ८ वटा वडा, गौरीगञ्ज गाउँपालिकाको ४ वटा वडा र दमक नगरपालिकाका सबै १० वटा वडा पर्दछन् ।
२०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा एमाले अध्यक्ष ओली छैटौंपटक उक्त क्षेत्रबाट निर्वाचित हुँदा ५२ हजार ३१९ मत प्राप्त गर्नु भएको थियो । उक्त निर्वाचनमा क्षेत्र नं. ५ मा १ लाख ५४ हजार २८९ मतदाता थिए ।
आसन्न निर्वाचनका लागि मचदाता संख्या बढेर १ लाख ६३ हजार ३७९ पुगेको छ । यसपटक ९ हजार ९० जना नयाँ मतदाता थपिएको निर्वाचन कार्यालयले उपलब्ध गराएको तथ्याङ्कमा उल्लेख छ ।


