
शिवसताक्षी । आसन्न निर्वाचनको मिति नजिकिँदै जाँदा झापा क्षेत्र नं. ४ मा घरदैलो कार्यक्रम तीव्र बनेको छ। नेकपा एमालेका उम्मेदवार एलपी साँवा लिम्बूले विगतमा गरेका विकास निर्माणका कामप्रति स्थानीय जनताबाट सकारात्मक प्रतिक्रिया आउन थालेको छ।
लगातार दुईपटक निर्वाचित भइसकेका साँवाले गरेका कामको मूल्यांकन मतदाताले अहिले गर्न थालेका छन्। क्षेत्रका २८ वटा वडामध्ये २४ वटामा घरदैलो कार्यक्रम सम्पन्न भइसकेको छ। साँवा निर्वाचनका बेला मात्र नभई अन्य समयमा पनि जनताकै बीचमा सक्रिय रहने भएकाले मतदातासँगको सम्बन्ध सहज रहेको वडाबासीको भनाइ छ।
साँवाको पहलमा ल्याइएको बजेटबाट क्षेत्रमा धमाधम पूर्वाधार विकासका काम भइरहेको देखिन्छ। शिवसताक्षी नगरपालिका वडा नं. ९ मा झरना खोला पश्चिमदेखि सुन्दरपुर, मोरङ्गे खाडी हुँदै रिङरोड जोड्ने २७०० मिटर सडक कालोपत्रे कार्य संघीय सहरी विकास मन्त्रालयअन्तर्गत करिब ३ करोड रुपैयाँ लागतमा सुरु भएको छ।
त्यसैगरी तीनकुने चौकदेखि मंगोलियन चौक हुँदै रिङरोड जोड्ने २२४० मिटर सडक पनि करिब ३ करोड लागतमा निर्माणाधीन छ। सडक पूर्वाधार तथा यातायात मन्त्रालयबाट विनियोजित बजेटमार्फत शिवसताक्षी–८ को सम्झना चौकदेखि मायालु चौकसम्म २२०० मिटर सडक कालोपत्रे गर्ने काम पनि अघि बढेको छ।
विकास चौकदेखि संगम चौक, प्रगति चौक हुँदै मंगलबारे जोड्ने २५०० मिटर सडक तथा शिवपाञ्चायन मन्दिर–पाराबारी बजार–साधु चौक हुँदै फाल्गुनन्द चौक जोड्ने ३३०० मिटर सडक पनि निर्माण प्रक्रियामा रहेका छन्।
साँवाले विगतदेखि नै पारदर्शी र आवश्यकतामा आधारित बजेट कार्यान्वयन गर्दै आएको स्थानीयको भनाइ छ। चालु आर्थिक वर्ष २०८२ ०८३ मा मात्र शिवसताक्षी क्षेत्रमा करिब १५ करोड रुपैयाँ बराबरका विकास आयोजना निर्माणाधीन रहेको जनाइएको छ।
स्थानीयस्तरमा तीव्र गतिमा भइरहेका विकासका काम र जनतासँगको निरन्तर सम्पर्कका कारण यसपटक पनि साँवा लिम्बूको जितको आधार बलियो बन्दै गएको देखिएको छ।
यसैबीच, झापा क्षेत्र नं. ४ मा चुनावी माहोल तातिँदै जाँदा नेकपा एमालेका उम्मेदवार एलपी साँवा लिम्बूले आफ्नो जीत सुनिश्चित रहेको दाबी गर्नुभएको छ। घरदैलो अभियानमा व्यस्त रहँदै उहाँले जनताको साथ, विश्वास र विकासका आधारमा एमालेको पकड अझ बलियो बनेको बताउनु भएको हो ।
साँवाले आफ्नो क्षेत्रमै केन्द्रित भएर मतदातासँग प्रत्यक्ष संवाद गरिरहेको बताउँदै झापा–४ मा अन्य दलको प्रभाव न्यून रहेको दाबी गर्नुभयो। उहाँका अनुसार यहाँको मतदाता विकास, स्थायित्व र अनुभवलाई प्राथमिकता दिने भएकाले एमालेप्रति विश्वास बढ्दो छ।
राष्ट्रिय राजनीतिमा देखिएको नयाँ दल र नयाँ अनुहारको चर्चालाई उहाँले क्षणिक प्रभावका रूपमा चित्रण गर्दै विचार, काम र प्रतिबद्धताले नै नेतृत्वको मूल्यांकन हुने बताउनुभयो।
उहाँले आफूलाई नेता नभई जनताको सेवकका रूपमा प्रस्तुत गर्दै शिक्षा, सडक पूर्वाधार, नदी नियन्त्रण र ऊर्जा क्षेत्रमा भएका कामलाई आफ्नो मुख्य उपलब्धि रहेको दाबी गर्नुभयो। विशेषगरी आर्थिक समृद्धिका लागि सौर्य ऊर्जाजस्ता परियोजनाले स्थानीयस्तरमै सकारात्मक प्रभाव पारेको उहाँको भनाइ छ।
झापा–४ मा प्रतिस्पर्धा कमजोर रहेको उल्लेख गर्दै साँवाले यसपटक पनि स्पष्ट मतान्तरसहित विजयी हुने विश्वास व्यक्त गर्नुभयो। साथै, आगामी निर्वाचनपछि एमाले पुनः देशकै पहिलो शक्तिका रूपमा स्थापित हुने दाबीसमेत उहाँले गर्नुभयो।


