
काठमाडौं । राष्ट्रिय लिग फुटबलमा हिजो भएका खेलमा जावलाखेल युथ क्लब र प्लानिङ ब्वाइज युनाइटेड विजयी भएका छन् ।
ललितपुरको सातदोबाटोमा रहेको एन्फा कम्प्लेक्सको मैदानमा भएको पहिलो खेलमा जावलाखेलले नेपाल पुलिस क्लबलाई ३–० गोलले हरायो । जावलाखेलका निकालेस ह्यामिल्टन, युवराज ढकाल र विकास दर्लामी मगरले गोल गरे ।
यो जीतसँगै जावलाखेल ६ खेलमा ९ अङ्कसहित तालिकाको आठौँ स्थानमा उक्लिएको छ । पुलिस ६ खेलमा ४ अङ्कसहित १४औँ स्थानमा छ ।
यस्तै एम्फा कम्प्लेक्समै भएको दोस्रो खेलमा प्लानिङ ब्वाइजले सङ्कटा एफसीलाई ४–० गोलले हरायो । प्लानिङ ब्वाइजका पापा इबोउ केबेले ह्याट्रिक र श्याम मुर्मुले १ गोल गरे ।
यो जीतसँगै प्लानिङ ब्वाइज ७ खेलमा १६ अङ्कसहित तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । सङ्कटा ७ खेलमा ६ अङ्कसहित १०औँ स्थानमा छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को आयोजनामा भइरहेको राष्ट्रिय लिगमा ‘ए’ डिभिजनका १३ र एन्फा प्रेसिडेन्ट लिगका ४ गरि १७ वटा टोली सहभागी छन् । प्रतियोगिताका खेलहरू दशरथ रङ्गशाला, च्यासल रङ्गशाला र एन्फा कम्प्लेक्समा भइरहेका छन् ।


