२०८२ फागुन ११ सोमवार , ०९:०२:३५ बजे

Sajhamanch
'

फागुन २१ सँग केपी ओलीका तीन संयोग : जति ढाल्न खोज्छन्, त्यति नै शक्तिशाली

सोमवार, फागुन ११, २०८२
  • गणेश पाण्डे

राधिका शाक्य रातो ब्लाउज अनि हल्का गुलाबी रङको सारीमा चिटिक्क हुनुहुन्थ्यो। दिउँसो १ बज्दै थियो, हामी दमक पुग्दा। उहाँ दमकमा हाम्रो प्रतीक्षामा हुनुहुन्थ्यो। ‘ओहो आमा ! आज त रातो सारीमा चिटिक्क देखिनुभएको छ,’ मेरो यो वाक्य भुइँमा झर्न नपाउँदै उहाँले हाँस्दै मौलिक शैलीमा भन्नुभयो– ‘कसैले उपहार दिएको सारी रहेछ, त्यही सारी लगाएको। नत्र सधैँ पुरानो सारी हुन्थ्यो। एनिभर्सरी मनाउन थालेको पनि पोहोरबाट त हो, साथीहरूले सुरु गरिदिएका ।’

कति सरल, कति सहज जवाफ ! कुनै बनावट नै थिएन, न त कुनै आडम्बर। बस, आत्मीयता र स्वाभाविकता थियो। कहिलेकाहीँ यस्तै साना क्षणहरूले ठूलो सन्देश दिन्छन्– जीवनमा भव्यताभन्दा पनि मनको सादगी ठूलो हुन्छ। सजावटभन्दा भावनाको अर्थ गहिरो हुन्छ। सादगी, सरलता र करुणाको अर्को नाम हो– राधिका शाक्य।

उही राधिका शाक्यको आँसुको मसीले लेखिएको पुस्तक “मेरा अनुभूति” को नयाँ संस्करण, वैवाहिक वार्षिकोत्सव ३९औँ वर्षमा प्रवेश गरेको अवसरमा आइतबार गृहनगर दमकमा विमोचन गरियो। संयोग पनि कस्तो छ भने, फागुन १० गते वैवाहिक वर्षगाँठ अनि ११ गते शाक्यका श्रीमान् केपी शर्मा ओलीको जन्मदिन।

दमकको गोरखा डिपार्टमेन्ट स्टोरको हलमा उभिँदै शाक्यले भन्नुभयो– ‘२०४४ सालपछि सयौँ पटक झापा र दमक आएँ, तर यस वर्षको क्षण विशेष लागेको छ। केपी सर सांसद हुनुहोला, मन्त्री हुनुहोला वा प्रधानमन्त्री बन्नुहोला भन्ने केही सोचेको थिइनँ। १४ वर्ष जेलजीवन बिताएर कमजोर शरीर लिएर आएको व्यक्तिसँग कुनै अपेक्षा नराखी भावनात्मक रूपमा एक भएकाले विवाह गरेको हुँ।’

शाक्यलाई आफ्ना श्रीमान् अर्थात् एमाले अध्यक्ष ओलीले स्वास्थ्यको समेत ख्याल नगरी दिनरात दुःख गरेकोमा भने चिन्ता छ। गत माघ ४ गते राति म अध्यक्ष ओलीलाई भेट्न गुण्डु गएको थिएँ। प्रतिनिधिसभाको टिकट टुङ्गो लगाउने चटारो थियो। धेरै नेता–कार्यकर्ताले उहाँ घेरिनुभएको थियो। उहाँले खाना खाँदै मसँगै कुरा गर्न खोज्नुभयो र माथिल्लो तलामा लिएर जानुभयो। उहाँहरूको बसाइ, शयन कक्ष, खाना खाने ठाउँ यति सरल रहेछ कि सायद प्रमुख पार्टीका कुनै अध्यक्षको पनि त्यति सरल छैन।

त्यस दिन पनि राधिका आमा भन्दै हुनुहुन्थ्यो– ‘रातको साढे १२ भइसक्यो, भोलि बिहानै झापा जानु छ। हिजो पनि बिहान ४ बजेसम्म सुत्नुभएन। कुनै पनि देशका पार्टीका अध्यक्ष र पूर्वप्रधानमन्त्रीले जीवनमा यति दुःख गर्दैनन् होला। आठ घण्टा काम, आठ घण्टा आराम त सबैको जीवनमा हुन्छ नि, सम्झाऊ न बाबु तिमीहरूले पनि !’ राधिका आमाले यसो भनिरहँदा म हाँसेँ मात्र। उहाँले जवाफ फर्काइरहनुभयो। बरु, त्यस दिनको दृश्यले मलाई अध्यक्ष ओलीप्रति निकै श्रद्धा पलाएको थियो। किनकि सामाजिक सञ्जालमा उहाँलाई अनेक आरोप लगाएर ‘भिलेन’का रूपमा प्रस्तुत गरिन्छ, तर उहाँको वास्तविक जीवनको चित्र भने अर्कै छ।

शाक्यले आइतबार पुस्तक विमोचनका क्रममा दमकमा पनि यही चिन्ता व्यक्त गर्नुभयो। जीर्ण र औषधिको भरमा टिकेको शरीर लिएर देश र जनताका लागि ओलीले अति धेरै दुःख गरिरहेको शाक्यको भनाइ थियो। उहाँ भन्दै हुनुहुन्थ्यो– ‘दिनरात देश र जनताबारे सोच्ने र यति धेरै दुःख गर्ने नेता संसारमा कोही छैन होला।’

राधिका शाक्य कुनै बेला पार्टीकै नेतृ हुनुहुन्थ्यो। उहाँले राजनीति बुझ्नुहुन्छ, तर राजनीति गर्नुहुन्न। चासो पनि राख्नुहुन्न। ओली र शाक्यको मिलन भने राजनीतिले नै गराएको हो। शाक्य त्यतिबेला पार्टीको जिल्ला कमिटी सदस्य र अखिल नेपाल महिला सङ्घको क्षेत्रीय सचिव हुनुहुन्थ्यो।

उहाँहरूको पहिलो भेट साउनतिर पार्टी कार्यक्रममै भए पनि दोस्रो भेट मङ्सिर २७ गते भएको थियो। त्यस दिन ओलीले भनेका कुरा शाक्यले सुनाउनु भयो– ‘मेरो स्वास्थ्य राम्रो छैन। खाने–बस्ने ठेगान छैन। कतिखेर पक्राउ पर्छु, त्यसको पनि टुङ्गो छैन। एउटा धागो पनि किनिदिन सक्दिनँ। एक छाक खुवाउने जिम्मा पनि म लिन सक्दिनँ। शरीर यही हो, पार्टीले विवाहको कुरा गरेको छ, तिमी नै निर्णय गर।’

ओली १४ वर्षको कठोर जेलजीवन बिताएर भर्खर रिहा भएको बेला थियो त्यो। धनसम्पत्ति, पेसा, व्यवसाय केही हुने कुरै भएन। स्वास्थ्य यति कमजोर थियो कि यातनागृहले भित्रैदेखि जीर्ण बनाएको र हेर्दा पनि कसैले फु गरिदियो भने ढल्लाजस्तो देखिने शरीर थियो। दुब्लो कति भने लगाएको सर्ट नै हड्डीले छेड्लाजस्तो। सरकारले जुनसुकै बेला फेरि गिरफ्तार गरेर थुन्न सक्ने वा जहाँ पनि मारिन सक्ने जोखिमपूर्ण अवस्था थियो।

२०४४ साल पुस २ गते धादिङमा तत्कालीन नेकपा (माले)को केन्द्रीय समिति बैठक थियो। त्यो बैठक ओलीका लागि यसकारण महत्त्वपूर्ण थियो कि त्यस दिन उहाँको जीवनमा दुई महत्त्वपूर्ण निर्णय हुँदै थिए। पहिलो, उहाँ त्यही बैठकबाट केन्द्रीय समितिमा मनोनीत हुँदै हुनुहुन्थ्यो । दोस्रो, राधिका शाक्यसँग विवाह गर्नका लागि ‘निर्णय गरिपाऊँ’ भन्ने बेहोराको निवेदन पार्टीकै निर्देशनबमोजिम बैठकमा बुझाउनु भएको थियो। त्यही बैठकको निर्णय अनुसार पार्टीले फागुन १० गते उहाँहरूको विवाह गरिदिएको थियो।

न रोगसँग हार्छन्, न बैरीसँग

तेह्रथुमको इवामा जन्मिनुभएका ओलीको ७४ वर्ष लामो जीवनयात्रा र ६० वर्षभन्दा लामो राजनीतिक जीवन सङ्घर्षै सङ्घर्षले भरिएको छ। इतिहास साक्षी छ– ओलीलाई मान्छेहरू जति ढाल्न खोज्छन्, उहाँ त्यति नै शक्तिशाली बनेर ठडिइरहनुहुन्छ।

दूधे बालकमै ओलीकी आमा बित्नुभयो। घरमा बसेर पेटभरि खाने र पढ्ने समयमा अर्काको घरमा गोठालो बस्न बाध्य हुनुपर्‍यो। भारतको नक्सलवादी आन्दोलनको प्रभाव नेपालको झापा, मोरङ र इलाममा देखापरेपछि पञ्चायतकालीन सरकार कठोर दमनमा उत्रियो। यही आन्दोलनको एउटा झिल्कोका रूपमा केपी शर्मा ओलीको उदय भयो। उहाँका कतिपय सहयोद्धाहरू मारिए, तर भर्खरै जुँगाको रेखी बस्न लागेका ओली छलिएर बाँच्नुभयो।

भूमिगत अवस्थामा आश्रय खोज्दै रौतहटका जुझारु वामपन्थी नेताको गाउँमा पुगेको बेला त्यहीँबाट पक्राउ पर्नुभयो। १४ वर्षसम्म जेलमा मात्र थुनिएन, कठोर यातना दिँदै देशभरका विभिन्न जेलहरूमा पुर्‍याइयो। जेलभित्रै फलामे नेलले बाँधियो, नाडीमा हतकडी लाग्यो, घाँटीमा मोटा फलामे गलफन्दीसहित कसैसँग भेटघाट र कुराकानी गर्न नदिएर सेन्ट्रल जेलको पिँजरामा थुनियो। गोलघरमा कोचियो।

कतिपय नेताहरू निरङ्कुश शासक र व्यवस्थासँग घुँडा टेकेर तमसुक गरी बाहिरिए, तर हलचल गर्न नसक्ने अवस्थामा पनि ओलीले हिम्मत हार्नुभएन। खुवाइदिनुपर्ने र दिसा धोइदिनुपर्ने अवस्थामा समेत हरेस खानुभएन, बरु देशलाई नेतृत्व गर्ने सपना बुनिरहनुभयो। आत्मविश्वासलाई दह्रिलो बनाइरहनुभयो।

वरिष्ठ लेखक कृष्णमुरारी भण्डारीको शब्द सापटी लिएर भन्नुपर्दा– आमासँगको विछोड, हजुरआमाको काख, गोठालोको परिश्रम, राजनीतिको कखरा, सङ्गठनको सवाल, ‘हिट एन्ड एक्सन’, गिरफ्तारी, यातना, मुद्दा र कारावास, ज्ञानको भोक र अध्ययनको मिहिनेत, तिरस्कारको जीवन, जेलबाट मुक्ति, पार्टीको जिम्मेवारी, बाह्य र अन्तरपार्टी सङ्घर्ष, स्वार्थीहरूको हमला, स्वास्थ्यको गिर्दो अवस्था, सत्ता र गृहमन्त्री बन्दाको सफलता, सत्तास्वार्थका पाखण्डीहरू र तिनका तुच्छ हर्कत, विपक्षीहरूको तानाबाना देखे भोगेपछि उहाँले पार्टी प्रमुख हुन खोज्दा गरिएका जाल, झेल र षडयन्त्र अनि त्यसपछि उनले ‘जस्तालाई तस्तै’ भनेर ऐना देखाउनेसम्मका क्रियाकलाप आलोचनात्मक चेतका कदमहरू नै थिए।

उहाँलाई टिकाउने योजना, स्रोतसाधन र सहयोग विपक्षीबाट ओलीले कहिल्यै पाउनुभएन। उहाँको देशभक्तिको शक्तिलाई बल पुर्‍याउनुको साटो विपक्षले सधैँ छिमेकी रिझाउनका लागि दुरुपयोग गरिरहे। तर, यसैले ओलीलाई कर्मनिष्ठ देशभक्त र सशक्त अनि प्रखर राष्ट्रवादी नेताका रूपमा उभ्यायो। उहाँले भारतकै नाकाबन्दीको समयमा उत्तरी छिमेक चीनसँग यातायात तथा पारवहन सम्झौता गरी प्रशान्त महासागरसम्म नेपालको पहुँच पुर्‍याउनुभयो। ओलीको यो विदेशनीति ‘ओली डक्ट्रिन’ का रूपमा स्थापित छ।

स्वप्नदर्शी प्रधानमन्त्रीका रूपमा अनेक खाका बोकेर सत्तामा उदाएका ओली राजनेतामा रूपान्तरण हुनुभयो। अपवित्र गठबन्धन गरेर उहाँलाई सत्ताच्युत गरियो, तर त्यसपछिको चुनावमा उहाँलाई सार्वभौम जनताले शक्तिशाली प्रधानमन्त्रीका रूपमा सत्तारोहण गराए । अनि विशृङ्खलित वामपन्थीहरूबीच ऐतिहासिक एकता गरेर सशस्त्र विद्रोहीहरूलाई शान्तिपूर्ण बाटोमा सहमत गराउँदै दिग्विजयको खाका प्रस्तुत गरियो । ओलीले देशलाई दुई अङ्कको आर्थिक विकासको नजिक पुर्‍याउनुभयो ।

आफ्नै पार्टीभित्रको अन्तर्घातमा पनि ओली स्पातिलो बनेर उभिनुभयो। संविधानविद् नीलाम्बर आचार्यको शब्दमा( “केपी शर्मा ओली आत्मबलले बनेको मानिस हो, आत्मबलको नेता हो। आत्मबल त्यसै आउँदैन, बलियो सोच र अदम्य इच्छाले ल्याउँछ।”

फागुन २१ को संयोग

देश यतिबेला भूराजनीतिक द्वन्द्वमा फसेको छ। २०८४ सालमा हुनुपर्ने निर्वाचन २०८२ को फागुन २१ गते हुँदैछ। निरङ्कुश, निर्दलीय पञ्चायती व्यवस्थाविरुद्ध आवाज उठाएर लोकतान्त्रिक व्यवस्था प्राप्तिका लागि सङ्घर्ष गर्दा १४ वर्ष जेल बस्दा दिइएका अमानवीय यातनाका कारण ओलीका दुवै मिर्गौला काम नलाग्ने अवस्थामा पुगेका थिए। उहाँको दोस्रो मिर्गौला प्रत्यारोपण २०७६ साल फागुन २१ गते नै भएको थियो। जतिबेला उहाँ प्रधानमन्त्री र नेकपाको अध्यक्ष हुनुहुन्थ्यो ।

प्रधानमन्त्री भए पनि उहाँले विदेशी अस्पताल रोज्नुभएन, बरु स्वदेशकै अस्पताल र स्वास्थ्यकर्मीको मनोबल उकास्न टिचिङ अस्पताल महाराजगन्जमा मिर्गौला प्रत्यारोपण गर्नुभयो। ओलीले रोगलाई जितेको फागुन २१ मा यसपालि जनताको मत जित्नुपर्ने दिनका रूपमा आएको छ। रोगलाई सजिलै पराजित गरेका ओलीले आफूलाई पराजित गर्न खोज्नेहरूलाई सजिलै पराजित गर्ने विश्वास झापाका उहाँका कार्यकर्ता, समर्थक र शुभेच्छुकको छ। किनकि केपी ओलीले पटक(पटक मृत्युमाथि जित हासिल गर्नुभएको छ।

फागुन २१ सँग ओलीको अर्को कहिल्यै नमेटिने साइनो छ,त्यो भनेको उहाँका अति नै प्रिय सहयोद्दा कमरेडहरुको शहादत । २०२९ फागुन २१ गते सुखानीको जंगलमा रामनाथ दाहाल, विरेन राजवंशी, नेत्र घिमिरे, कृष्ण कुइँकेल र नारायण श्रेष्ठजस्ता ओलीका सहयोद्दालाई तत्कालीन सत्ताले जेल सार्ने बहानामा लगेर हत्या गरेको थियो । त्यो शहीदको रगतको कसम खाएर ओलीले अघि बढाएको आन्दोलनको झण्डा अहिलेसम्म झुक्न दिनुभएको छैन ।

आफ्नै सहयोद्धा र सहकर्मी भनिएकाहरूले गर्ने दुष्प्रचार र तिरस्कारका सुइराहरूले घोच्दा पनि कहिल्यै नहारेका ओलीलाई फागुन २१ गते झापाली जनताले सानदार मतका साथ जिताउने निश्चित छ। नेकपा (एमाले) का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई उहाँकै गृहनगर दमकबाट ७५औँ जन्मोत्सवको हार्दिक शुभकामना १

(लेखक प्रेस चौतारी नेपालका केन्द्रीय अध्यक्ष हुन् ।)

सम्बन्धित खबर