
गुल्मी । गुल्मीको रेसुङ्गा विमानस्थलमा अबदेखि हप्तामा तीन पटक मात्र उडान हुने भएको छ । नेपाल वायु सेवा निगमले बिहीवार हुँदै आएको हवाई उडान हटाएको हो ।
यसअघि हप्तामा आइतवार, मङ्गलवार, बिहीवार र शनिवार गरी चार पटक उडान हुँदै आएको थियो । उडान तालिका परिवर्तनपछि अब आइतवार, मङ्गलवार र शनिवार गरी हप्तामा तीन पटक मात्र उडान हुने भएको रेसुङ्गा विमानस्थल गुल्मीका स्टेशन प्रमुख सुमन थापाले जानकारी दिनुभएको छ ।
नेपाल वायु सेवा निगमका अहिले तीन वटा मात्र ट्विनअटर जहाज रहेको र ती जहाजहरू समयसमयमा मर्मत गर्नुपर्ने भएका कारण केही समयका लागि निगमले उडान तालिकामा परिवर्तन गरेको थापाले बताउनुभयो ।
निगमले १८ सिट क्षमताको ट्विनअटर जहाजमार्फत काठमाण्डौबाट बिहान साढे ६ बजे र रेसुङ्गा विमानस्थलबाट बिहान साढे ७ बजे उडान गर्दै आएको छ । काठमाण्डौबाट गुल्मीको भाडादर ७ हजार ५०० र गुल्मीबाट काठमाण्डौ ७ हजार ३०० रुपैयाँ निर्धारण गरिएको छ ।
निगमले गुल्मीका २०८० साल वैशाख २९ गतेदेखि व्यावसायिक रूपमा हवाई उडान सेवा शुरुआत गरेको थियो ।


