
काठमाडौं । नेपाली कांग्रेसले चुनावी प्रतिज्ञापत्रमा समेटिएका विषयमा खुला प्रश्नोत्तर गर्ने भएको छ । हिजो जनकपुरमा सार्वजनिक भएको प्रतिज्ञापत्रको विस्तृत जानकारी गराउँदै पार्टी सभापति गगनकुमार थापाले आज खुला प्रश्नोत्तर गर्न लाग्नुभएको हो ।
आज दिउँसो १ बजेदेखि काठमाण्डौको राष्ट्रिय सभागृहमा हुने ‘हाम्रो प्रतिज्ञा–तपाईंको प्रश्न’ कार्यक्रममा सभापति थापाले प्रतिज्ञापत्रका बारेमा देशविदेशबाट प्रश्न लिँदै जवाफ दिने कार्यक्रम रहेको कांगेसले जनाएको छ । जनकपुरमा हिजो भएको प्रतिज्ञासभामा सभापति थापाले पार्टीको प्रतिज्ञापत्रको संक्षिप्त अंश सार्वजनिक गर्नुभएको थियो ।
कांग्रेसले चुनावको घोषणापत्रलाई प्रतिज्ञापत्र नाम दिएको हो । प्रतिज्ञापत्रमा कांग्रेसले युवाहरूका लागि स्वदेशमै मर्यादित अवसर सिर्जना गर्ने, विदेशमा रहेका नेपालीहरूको ज्ञान, सीप र पुँजीलाई मातृभूमिको विकासमा जोड्ने तथा लगानी र रोजगारी सिर्जनामा राज्यको साथ दिने वाचा गरेको छ । कृषि क्षेत्रमा सिँचाइ र मलको अभाव अन्त्य गर्ने र नेपाली उत्पादनलाई विश्व बजारमा ब्राण्ड बनाउने प्रतिबद्धता पनि छ ।
स्वास्थ्य उपचारलाई नागरिकको मौलिक अधिकारको रूपमा मान्यता दिँदै विकसित देशको स्तरको स्वास्थ्य बीमा प्रणाली लागू गर्ने र शिक्षालाई प्रविधिसँग जोड्ने कांग्रेसको प्रतिज्ञा छ । सुशासनका सन्दर्भमा दलीयकरण र भ्रष्टाचारको अन्त्य गर्दै ‘डिजिटल नेपाल’ को अवधारणा साकार पार्ने र परराष्ट्र नीतिमा छिमेकी तथा मित्रराष्ट्रहरूसँगको सम्बन्ध समानता र आपसी सम्मानमा आधारित राख्ने वाचा पनि प्रतिज्ञापत्रमा गरिएको छ ।


