२०८२ फागुन ७ बिहिवार , ११:४४:५८ बजे

Sajhamanch
'

आज दशौँ निर्वाचन दिवस मनाइंदै

बिहिवार, फागुन ७, २०८२

काठमाडौं । आज निर्वाचन दिवस विभिन्न कार्यक्रम गरि मनाइंदैछ । पहिलो आम चुनाव २०१५ साल फागुन ७ गते शुरू भई २०१६ साल वैशाख २१ गते सम्पन्न भएको थियो । यो नै नेपालमा बालिग मताधिकारका आधारमा सम्पन्न भएको पहिलो आम चुनाव हो ।

नेपाली मतदाताले आफ्नो सार्वभौम अधिकार प्रयोग गर्न पाएको सोही दिनको स्मरणमा प्रत्येक वर्ष फागुन ७ गते निर्वाचन दिवस मनाउने गरिएको छ । यसवर्ष प्रतिनिधिसभा सदस्य निर्वाचनमै केन्द्रित हुन परेकाले आज कान्तिपथमा रहेको परिसरमा कार्यक्रम आयोजना गरी दिवस मनाउन लागिएको आयोगका सूचना अधिकारी सुमन घिमिरेले जानकारी दिनुभयो ।

यसैबीच कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले राजनीतिक दल तथा उम्मेदवारलाई स्वतन्त्रतापूर्वक र निर्बाध रूपमा चुनावी प्रचार–प्रसार गर्न आह्वान गर्नुभएको छ ।

दशौँ निर्वाचन दिवसका अवसरमा आज उहाँले दिनुभएको सन्देशमा चुनावमा खटिएका कर्मचारी, अनुगमनकर्ता, पर्यवेक्षक तथा आम मतदातालाई आवश्यक सुरक्षाको प्रत्याभूतिसहित स्वच्छ, स्वतन्त्र, निष्पक्ष र शान्तिपूर्ण रूपमा चुनावमा सहभागी हुने उपयुक्त वातावरण निर्माण गर्न अपिल गर्नुभएको छ ।

स्वच्छ, स्वतन्त्र, विश्वसनीय, पारदर्शी एवम् मितव्ययी चुनाव, शान्ति, स्थिरता, समृद्धि र सुशासनको मूलमन्त्रलाई आत्मसात् गर्दै सबै सरोकारवालासँगको समन्वय, सहयोग, साझेदारी र सहकार्यमा फागुन २१ गते हुने चुनावले विद्रोहपछि भड्किएको अनुशासनलाई सही मार्गमा ल्याउने विश्वास लिएको बताउनुभयो ।

गएको भदौ २३ र २४ गते भएको नवयुवा विद्रोहपछि राष्ट्रपतिबाट घोषणा गरिएको प्रतिनिधिसभा सदस्य चुनावको मतदानको दिन आउन अब १४ दिन बाँकी रहेको छ । यस पटकको निर्वाचन दिवस आयोगका लागि मात्र नभई आम मतदाता, नागरिक, राजनीतिक दल तथा उम्मेदवारका लागि पनि विशेष र अविस्मरणीय रहेको कार्यवाहक प्रमुख आयुक्त भण्डारीको भनाइ छ ।

सम्बन्धित खबर