२०८२ फागुन ७ बिहिवार , ११:३१:५६ बजे

Sajhamanch
'

टी–२० विश्वकपमा भारतले नेदरल्याण्ड्सलाई हरायो

बिहिवार, फागुन ७, २०८२

काठमाडौं । आईसीसी टी–२० विश्वकपमा भारतले नेदरल्याण्ड्सलाई १७ रनले पराजित गरेको छ । हिजो भएको खेलमा भारतले दिएको १९४ रनको लक्ष्य पछ्याएको नेदरल्यान्ड्स निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १७६ रनमा समेटियो ।

टस जितेर पहिले ब्याटिङ गरेको भारतका लागि शिवम दुबेले ३१ बलमा सर्वाधिक ६६ रन बनाए । यस्तै सूर्यकुमार यादवले ३४, तिलक वर्माले ३१ र हार्दिक पाड्याले ३० रनको योगदान दिएपछि भारतले ६ विकेटले क्षतिमा १९३ रन बनाएको थियो । यसैबीच विश्वकपमा सुपर–८ मा पुग्ने सबै टोलीको टुंगो लागेको छ ।

हिजो भएको समूह ‘ए’ को खेलमा पाकिस्तानले नामिबियालाई हरायसँगै अन्तिम टोलीको रूपमा पाकिस्तान सुपर ८ मा पुगेको हो । पाकिस्तानले दिएको २०० रनको लक्ष्य पछ्याएको नामिबिया १७ ओभर ३ बलमा ९७ रनमा समेटियो । नामिबियाका लागि लोरेन स्टिनक्याम्पले सर्वाधिक २३ रन बनाए । बलिङमा पाकिस्तानका उस्मान तारिकले सर्वाधिक ४ विकेट लिए ।

त्यसअघि पहिला ब्याटिङ गरेको पाकिस्तानले शाहिबजादा फरहानको शतकमा १ सय ९९ रन बनाएको थियो । फरहानले ५८ बलमा शतक पूरा गर्दै अविजित रहे । यो टी–२० विश्वकपको तेस्रो शतक हो ।

बलिङमा नामिबियाका ज्याक ब्रासेलले सर्वाधिक २ विकेट लिए । सुपर–८ को समूह–१ मा भारत, वेस्ट इन्डिज, दक्षिण अफ्रिका र जिम्बावे छन् भने समूह २ मा इंग्ल्यान्ड, न्यूजिल्याण्ड, पाकिस्तान र श्रीलंका छन् ।

समूह ‘ए’ बाट पाकिस्तानसँगै भारत सुपर–८ मा पुग्दा समूह ‘बी’ बाट श्रीलंका र जिम्बावे पुगेका छन् । समूह ‘सी’ बाट इंग्ल्याण्ड र वेष्ट इन्डिज र समूह ‘डी’ बाट दक्षिण अफ्रिका र न्यूजिल्याण्डले सुपर–८ मा स्थान पक्का गरेका हुन् । अस्ट्रेलिया, अफगानिस्तान, आयरल्यान्डसहितका राष्ट्रहरु समूह चरणबाटै बाहिरिएका छन् ।

नेपाल पनि एक जीत र तीन खेलमा पराजित हुँदै विश्वकपबाट बाहिरिएको छ । विश्वकप क्रिकेटमा आज विहान सवा ११ बजे भारतमा वेष्ट इण्डिज र इटली, दिउँसो सवा ३ बजे श्रीलंकामा श्रीलंका र जिम्बावे तथा बेलुकी सवा ७ बजे भारतमा अफगानिस्तान र क्यानडाले खेल्नेछन् ।

सम्बन्धित खबर