२०८२ फागुन ६ बुधवार , ०५:२६:५० बजे

Sajhamanch
'

दक्षिण अफ्रिका अपराजित रहँदै ‘सुपर–एट’ मा

बुधवार, फागुन ६, २०८२

काठमाडौं ।  संयुक्त अरब इमिरेट्स (यूएई) लाई हराउँदै दक्षिण अफ्रिकाले आईसीसी टी–२० विश्वकपमा लगातार चौथो जीत हासिल गरेको छ । दिल्लीको अरुण जेटली स्टेडियममा आज भएको समूह ‘डी’ को खेलमा दक्षिण अफ्रिकाले यूएईलाई ६ विकेटले हरायो ।

यूएईले दिएको १२३ रनको लक्ष्य दक्षिण अफ्रिकाले १३ ओभर २ बलमा ४ विकेट गुमाएर भेटायो । दक्षिण अफ्रिकाका डेवाल्ड ब्रेभिसले ३६ रन बनाए । यूएईका हेदर अली, मुहम्मद जावदुल्लाह, मोहम्मद अरफान र मोहम्मद फारुकले १/१ विकेट लिए ।

यसअघि टस हारेर ब्याटिङ गरेको यूएईले २० ओभरमा ६ विकेट गुमाएर १२२ रन बनायो । यूएईका आलिशान शरफुले ४५ रन बनाए । दक्षिण अफ्रिकाका कोर्बिन बोशले ३ विकेट लिए । यो समूहबाट दक्षिण अफ्रिका र न्युजिल्यान्ड ‘सुपर एट’ मा पुगिसकेका छन् ।

प्रतियोगिता अहिले दिउँसो सवा ३ बजे हुने समूह ‘ए’ का पाकिस्तान र नामिबियाबीचको खेलले ‘सुपर एट’ मा पुग्ने अन्तिम टोलीको टुङ्गो लाग्नेछ । यो समूहबाट भारत ‘सुपर–एट’ मा पुगेको छ ।

यस्तै समूह ‘बी’ बाट श्रीलङ्का र जिम्बावे तथा समूह ‘सी’ बाट वेस्ट इन्डिज र इङ्ग्ल्यान्ड ‘सुपर–एट’ मा पुगेका छन् । प्रतियोगितामा आजै बेलुका सवा ७ बजे भारत र नेदरल्यान्ड्स खेल्दैछन् ।

‘सुपर–एट’ का खेलहरू आउँदो शनिवारदेखि शुरू हुनेछन् । ‘सुपर–एट’ मा दुई वटा समूहमा चार–चार वटा टोली रहनेछन् । ‘सुपर–एट’ का शीर्ष दुई टोली सेमिफाइनलमा पुग्नेछन् । १०औँ संस्करणको टी–२० विश्वकपको फाइनल खेल आउँदो मार्च ८ मा हुनेछ ।

सम्बन्धित खबर