२०८२ फागुन ५ मङ्गलवार , ०९:१२:५१ बजे

Sajhamanch
'

झापा क्षेत्र नं. ५ का उम्मेदवार एमाले अध्यक्ष ओलीका ४२ प्रतिवद्धता

मङ्गलवार, फागुन ५, २०८२

दमक । प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गरी नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको उम्मेद्वारी रहेको झापा क्षेत्र नंं. ५ लाई केन्द्रित ४२ बुँदे प्रतिवद्धता पत्र सार्वजनिक गरिएको छ। प्रतिवद्धता पत्रमा मुख्य चार क्षेत्र छनौट गरिएको छ । जसमा सुशासनको क्षेत्र, भ्रष्टाचार नियन्त्रण, राष्ट्र, राष्ट्रियताको सवाल र पूर्वाधार लगायतका क्षेत्रको विषय समेटिएको छ ।

राजनीतिक दृष्टिकोण

झापा क्षेत्र नं. ५ का उम्मेद्वार रहनु भएका एमाले अध्यक्ष ओलीको प्रतिवद्धता पत्रमा केही राजनीतिक विषयहरुमा प्रष्ट पारिएको छ। जसमा उल्लेख गरिएको छ, ‘नेकपा (एमाले) नेपाली कम्युनिस्ट आन्दोलनको मूलधार हो । २००६ साल वैशाख १० गते स्थापना भई यस पार्टीले ७६ वसन्त पार गरेको छ। स्थापनाकालदेखि हालसम्म यस पार्टीले अनेकौं हन्डर ठक्कर खाँदै महत्वपूर्ण उपलब्धि हासिल गरेको छ ।

नेपालको कम्युनिस्ट आन्दोलनमा देखापर्ने दक्षिणपन्थी अवसरबाद र उग्रवामपन्थी भड्कावलाई परास्त गर्दै नेपालको कम्युनिस्ट आन्दोलनलाई अझ सशक्त बनाउँदै अगाडि बढाउँदै छौं । नेकपा (एमाले)ले नेपालमा पहिलोपटक कम्युनिस्ट सरकार गठन गरी २०५१ र २०५२ सालमा लोकप्रिय कामको थालनी गरेको कुरा सबैमा जगजाहेर छ । आज मुलुक त्यही जगलाई टेकेर अगाडि बढिरहेको छ ।’

स्पष्ट कार्यदिशाको अभाव रहेका पार्टीहरू जनताबाट अलोकप्रिय बन्दै एक्लिँदै, खण्डित हुँदै गइरहेको उल्लेख गर्दै प्रतिवद्धता पत्रमा नेकपा (एमाले) अनेक बाधा, अड्चनलाई चिर्दै अगाडि बढिरहेको भनिएको छ । ‘२०७४ सालको आमनिर्वाचन पछि नेकपा (एमाले)ले सरकार गठन गन्यो र त्यसको नेतृत्व गर्ने अवसर केपी शर्मा ओलीले पाउनुभयो ।

कतिपय आन्तरिक कारण र वाह्य शक्तिको षड्यन्त्र र दबाबका कारण त्यो सरकार २०७८ सालमा विघटन भयो र नेकपा (एमाले)समेत खण्डित भई नेपाली कम्युनिस्ट आन्दोलनमा ठूलै क्षति पुग्यो । नेपाली जनतामा एकहदको निराशासमेत पैदा भयो । त्यसबाट दक्षिणपन्थी शक्तिहरूले शिर उठाउने मौका पाए ।’

प्रतिवद्धता पत्रमा भनिएको छ, ‘२०७४–२०७८ करिब साढे तीन वर्षमा डेढ वर्ष जति कोभिड महामारीले जनजीवनलाई अस्तव्यस्त बनाइदियो । बाँकी दुई वर्षमा मुलुकले पूर्वाधार विकासको इतिहासमा फड्को मारेको जगजाहेर नै छ । २०७५ सालको निर्वाचनबाट कुनै पनि पार्टीको बहुमत नआएपछि सरकार भने अस्थिर बन्दै गयो । सत्ता टिकाउन दलहरुबिच अस्वस्थ गतिविधि हुन थाले । यस्तो बेलामा नेकपा (एमाले) मुकदर्शक भएर बस्न हुँदैनथ्यो, त्यसकारण स्थिर सरकार दिनका लागि दुई ठुला दलहरूबिच सत्ता साझेदारी गरिएको थियो ।’

स्टन्टबाजी र पपुलिस्ट चरित्र

एमाले अध्यक्ष ओलीको प्रतिवद्धता पत्रमा राजनैतिक दलहरूमा देखिएको दोहोरो चरित्रका कारण केही स्टन्टबाजी र पपुलिस्टहरूले परिस्थितिको फाइदा लिन थालेको पनि जनाईएको छ । स्टन्टबाजी र पपुलिस्टको कुनै दर्शन नीति कार्यक्रम नभई केवल चर्का देखावटी नारा मात्र हुने उल्लेख गर्दै चर्का नाराले सर्वसाधारणमा केही भ्रम पार्ने गरेको जनाइएको छ ।

त्यसै गरी सामाजिक सञ्जाल र विद्युतीय सञ्चारले गलत र तथ्यहीन कुराहरू प्रशारण गर्दा केही मानिसका दिमागमा भ्रम पार्न सफल पनि भएको भन्दै कृत्रिम बुद्धिमत्ता (एआई)को नियमनमा कानुनको अभावमा व्यापक दुरूपयोग भएको र त्यस्ता कुरा अनियन्त्रित हुँदा कतिपयलाई भ्रमित बनाएको जनाईएको छ ।

‘सुखी नेपाली समृद्ध नेपाल’को कार्यक्रम

नेकपा एमालेले ‘सुखी नेपाली समृद्ध नेपाल’को नारा अगाडि सारेको उल्लेख गर्दै यो नारा मात्र नभई कार्यक्रम पनि रहेको स्पष्ट पारिएको छ । यो नाराको विकल्प नरहेको ठहर गर्दै नेकपा (एमाले) जनता र कार्यकर्तामा आधारित पार्टी रहेको र विगतमा भएका राम्रा कामको संरक्षण र अधुरा कामको जिम्मेवारी प्रति पनि प्रतिवद्धता जनाइएको छ ।

प्रतिवद्धता पत्रका मुख्य क्षेत्र

२०८२ साल फागुन २१ गते हुने निर्वाचनमा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई झापा क्षेत्र नं. ५ को उम्मेद्वारको रूपमा अगाडि सारेको र उहाँलाई अमूल्य मत दिई विजय गराउन अनुरोध गर्दै निर्वाचनपछि निर्धारण गरिएका क्षेत्रमा काम गर्ने प्रतिबद्धता जनाईएको छ ।

प्रतिवद्धता पत्रमा भनिएको छ, ‘सुशासन लोकतन्त्रको सुन्दरता हो । देशमा राजनैतिक अस्थिरताले पर्याप्त सुशासन कायम नभएको कुरा सबैमा जगजाहेर छ । सुशासन कायम गर्ने हाम्रो प्रतिबद्धता र कार्यक्रम रहने छ ।’

यस्तै भ्रष्ट्राचार नियन्त्रणको सवालमा उल्लेख गरिएको छ कि, ‘देशमा भएको भ्रष्ट्राचार र कुशासनको अन्त्य गर्नु अपरिहार्य भएको छ । भ्रष्ट्राचार नियन्त्रण नाराले मात्र सम्भव छैन । त्यसका लागि कार्यक्रमको आवश्यकता पर्छ ।’ विगतमा एमाले सरकारमा हुँदा भ्रष्ट्राचार नियन्त्रणको काम सुरु गरी केही उपलब्धिसमेत प्राप्त भएको उल्लेख गर्दै भ्रष्ट्राचार नियन्त्रणमा शून्य सहनशीलता अपनाइने उल्लेख गरिएको छ ।

राष्ट्र, राष्ट्रियताको सवालमा, नेपाल भूपरिवेष्ठित मुलुक भएको र यस्ता देशका समस्या विशेष खालका हुने उल्लेख गर्दै भूपरिवेष्ठित मुलुकलाई भूजडित बनाउनका लागि छिमेकी देशहरूसँग व्यापार तथा पारवहन सन्धिहरूमार्फत बाट कूटनीतिक रूपमा कार्य अगाडि बढाइने जनाईएको छ । विगतका प्राप्त उपलब्धिलाई संरक्षण गर्ने पनि एमालेको प्रतिवद्धता छ ।

पूर्वाधारलगायतका क्षेत्रमा प्रष्ट पार्दै एमालेले भौतिक पूर्वाधार क्षेत्रको विकासले आर्थिक विकासको ढोका खोल्ने कुरा सबैमा विदितै रहेको उल्लेख गर्दै यस क्षेत्रमा भौतिक पूर्वाधारलगायतका क्षेत्रमा पर्याप्त काम भएको जनाएको छ । तर कतिपय काम अधुरा रहेको उल्लेख गर्दै यस क्षेत्रलाई प्रभाव पार्ने काम गर्ने प्रतिबद्धता जनाइएको छ ।

सम्बन्धित खबर