
काठमाडौं । काठमाडौं उपत्यकामा वायु प्रदूषण बढेको छ । हिजो दिउँसो १७८ रहेको वायु गुणस्तर सूचकाङ्क (एक्युआई) आज दिउँसो १९१ सम्म पुगेको छ । यो स्तर ‘सबैका लागि अस्वस्थ’ श्रेणीमा पर्छ जसले विशेषगरी बालबालिका, ज्येष्ठ नागरिक तथा श्वासप्रश्वास र मुटुरोगीलाई बढी असर पार्न सक्छ ।
‘एअर क्वालिटी इन्डेक्सु (एक्यूआई) अनुसार आज काठमाडौं विश्वकै तेस्रो प्रदूषित शहरका रूपमा सूचीकृत भएको छ । भारतको दिल्ली २२९ एक्यूआईसहित पहिलो र पाकिस्तानको लाहोर २०३ एक्यूआईसहित दोस्रो स्थानमा सूचीकृत भएको छ ।
वातावरण विभागका महानिर्देशक ज्ञानराज सुवेदीले पानी नपरे आउँदा दिनमा प्रदूषण अझै बढ्न सक्ने बताउनुभयो । वर्षाले हावामा रहेको धुलो तथा कणलाई जमिनमा झार्न मद्दत गर्ने भएकाले लामो समयसम्म सुक्खा मौसम रहँदा प्रदूषणको मात्रा उच्च हुने उहाँको भनाइ छ ।
दिगो तथा वातावरणमैत्री विकासका उपाय प्रभावकारी रूपमा कार्यान्वयन गर्न सम्बन्धित निकायलाई सुझाव दिइएको महानिर्देशक सुवेदीले जानकारी दिनुभयो ।
वातावरण अभियन्ता वर्षा पराजुलीका अनुसार उपत्यकामा गाडीको तीव्र वृद्धि, डिजेल तथा पेट्रोलबाट निस्कने धुवाँ, निर्माणाधीन सडक तथा पूर्वाधार परियोजनाबाट उड्ने धुलोका साथै वन डढेलो र लामो समयसम्मको सुक्खा मौसमले वायु प्रदूषण बढाएको छ । ‘यदि समयमै नियन्त्रणका उपाय अपनाइएन भने स्थिति अझ जटिल बन्न सक्छ’, उहाँले भन्नुभयो ।
विश्व स्वास्थ सङ्गठन (डब्ल्यूएचओ) को मापदण्डअनुसार एक्यूआई ४० भन्दा कम हुनुपर्छ । ५१ देखि १ सयसम्म एक्यूआई मापन गरिएको वायु सामान्य अवस्थाको हुन्छ ।
१०१ देखि १५० सम्मलाई नै संवेदनशील समूहका लागि अस्वस्थ मानिन्छ । १५१ देखि २०० सम्मलाई अस्वस्थ, २०१ देखि ३०० सम्मलाई निकै अस्वस्थ र ३०१ भन्दा माथि मापन भए खतरनाक तहमा पुगेको मानिन्छ ।
काठमाण्डौ उपत्यकाका लागि वायु गुणस्तर व्यवस्थापन कार्ययोजना २०७६ अनुसार नेपाल सरकारले एक्यूआई ३०० भन्दा धेरै पुगेको अवस्थालाई विपद् मान्ने व्यवस्था गरेको छ ।
यस्तो विपद् न्यूनीकरणका लागि फोहोर बाल्ने कार्य रोक्ने, सडक सफाइका लागि ‘ब्रुमर’ तथा ‘भ्याकुम’ को प्रयोग बढाउनुका साथै बालबालिका, ज्येष्ठ नागरिक र बिरामीलाई विशेष सावधानी अपनाउन सार्वजनिक सूचना जारी गर्ने व्यवस्था कार्ययोजनामा उल्लेख छ ।
राष्ट्रिय वातावरण नीति २०७६ अनुसार वायु प्रदूषण न्यूनीकरणका लागि जल, वायु, माटो, ध्वनि, विद्युत्–चुम्बकीय तरङ्ग, रेडियोधर्मी विकिरण तथा जोखिमपूर्ण रासायनिक प्रदूषण रोकथामसम्बन्धी राष्ट्रिय मापदण्ड तयार गरी कार्यान्वयन गर्ने सरकारी रणनीति छ ।
साथै प्रमुख शहर, औद्योगिक क्षेत्र तथा प्रदूषणको जोखिम रहेका स्थानमा गुणस्तर मापन केन्द्र स्थापना गरी वायु, जल र ध्वनि गुणस्तरको नक्साङ्कन गरिने उल्लेख गरिएको छ ।


