
भोजपुर । डिभिजन वन कार्यालयले सम्भावित वन डढेलो नियन्त्रण तथा रोकथामका लागि आवश्यक सहयोग सामग्रीसहित जिल्लाव्यापी सचेतनामूलक अभियान सुरुआत गरेको छ ।
हिउँदयाम सुरु भएसँगै बढ्दो सुक्खापन र तापक्रम वृद्धिले वन क्षेत्रमा आगलागीको जोखिम बढ्न सक्ने अवस्थालाई मध्यनजर गर्दै कार्यालयले उच्च जोखिमयुक्त क्षेत्रमा लक्षित कार्यक्रम सञ्चालन गरेको हो ।
कार्यालयका अनुसार जिल्लाका नौवटै स्थानीय तहका दर्जनौँ क्षेत्र वन डढेलोको उच्च जोखिममा छन् । वन क्षेत्र आसपास हुने मानव गतिविधि, सुक्खा घाँसदाउरा तथा बढ्दो गर्मी डढेलोका प्रमुख कारणका रूपमा देखिएका छन् ।
भोजपुर डिभिजन वन कार्यालयका प्रमुख खुद्रुस मियाँका अनुसार डढेलो जोखिम न्यूनीकरण तथा सर्प उद्धारसम्बन्धी ११ प्रकारका २१६ थान सामग्री जिल्ला विपद् जोखिम न्यूनीकरण समितिलाई हस्तान्तरण गरिएको छ । डढेलो जोखिम न्यूनीकरणका लागि कार्यालयले अभियानका रूपमा कार्यक्रम अघि बढाएको छ ।
कार्यालयले सार्वजनिक गरेको विवरणअनुसार पौवादुङमा गाउँपालिकाको ठूलोदुम्मा, सानोदुम्मा, बास्तिम, श्यामशिला र औलिया क्षेत्र उच्च जोखिममा छन् । त्यसैगरी, हतुवागढी गाउँपालिकाअन्तर्गत रानीवास, होम्ताङ ९साविक वडा नं. ५ र ६०, पालोपानी, हसनपुर–भालेडाँडा, खैराङ र डाँडाबर्क जोखिम सूचीमा सूचीकृत छन् ।
रामप्रसादराई गाउँपालिकाका मानेभञ्ज्याङ, कावा दोभान, सीतेडाँडा–मुलरेडाँडा–चिलाउनेटार, बेहेरे–बडहरे, सल्लेरी, कटुन्जे र जलापदेवी सल्लेरी क्षेत्रलाई उच्च जोखिमयुक्त मानिएको छ ।
त्यसैगरी, अरुण गाउँपालिकाको जरायोटार, सिक्रेटार, याकु, र्याङ, याङपाङ र चम्पे ९तीनतले० क्षेत्रमा विशेष सतर्कता अपनाउन आग्रह गरिएको छ । भोजपुर नगरपालिकाका पारपानी, टक्सार, आम्तेक, पालुवा, हेलौछा, दाँवा र राममाटे क्षेत्र पनि जोखिममा परेका छन् ।
आमचोक गाउँपालिकाको पाङ्चा, धारापानी–सेतेगरगरे–कार्कीछाप, फेदी–ठूले वन, दुम्माना–पाथीभरा र देवानटार क्षेत्र संवेदनशील मानिएको छ । टेम्केमैयुङ गाउँपालिकाअन्तर्गत गोगने (सिङ्गेल खोला क्षेत्र), कोट (सिङ्गेल दोभान क्षेत्र), खाल्डे र केराबारी जोखिममा छन् ।
त्यस्तै, षडानन्द नगरपालिकाका देउराली–झ्यापोखरी, दिङ्ला, चिउरीबोटे, नेपालेडाँडा, कुदाकाउले र बैदारभञ्ज्याङ क्षेत्रलाई उच्च जोखिम क्षेत्रमा राखिएको छ । साथै साल्पासिलिछो गाउँपालिकाको कुलुङ, चौकीडाँडा र सालेवा दोभाने क्षेत्र पनि सम्भावित जोखिमयुक्त सूचीमा समावेश गरिएको छ।
वन कार्यालयले स्थानीय तह, सुरक्षा निकाय तथा सामुदायिक वन उपभोक्ता समूहसँग समन्वय गरी जनचेतनामूलक कार्यक्रम, अग्नि नियन्त्रण सामग्री वितरण र नियमित निगरानीलाई तीव्रता दिएको जनाएको छ ।
वन क्षेत्रमा जथाभावी आगो बाल्न, खरानी फाल्न वा चुरोट फाल्न नदिन सर्वसाधारणलाई विशेष अनुरोध गरिएको छ । समयमै सचेतना, समन्वय र सामूहिक प्रयासमार्फत सम्भावित क्षति न्यूनीकरण गर्ने लक्ष्यसहित अभियान अघि बढाइएको कार्यालयले जनाएको छ ।


