
बिर्तामोड । मछिन्द्र फुटबल क्लब काठमाडौँले सशस्त्र प्रहरीको एपिएफ फुटबल क्लबलाई ३–१ गोल अन्तरले पराजित गर्दै एक्स्ट्रिम सातौँ झापा गोल्डकप विनोद बस्नेत स्मृति संस्करणको उपाधि हात पारेको छ ।
अधिकांश झापाली खेलाडी सहभागी मछिन्द्रले पहिलोपटक झापा गोल्डकपको उपाधि उचालेको हो ।
उपाधिसँगै मछिन्द्रले १५ लाख रुपैयाँ र ट्रफी प्राप्त गरेको छ । एपिएफले भने ७ लाख ५० हजार रुपैयाँमा चित्त बुझायो । यो वर्षको नेपालकै सबैभन्दा बढी पुरस्कार राशि भएको प्रतियोगिता झापा गोल्डकप हो ।
खेलको प्लेयर अफ द म्याच विजेता टिम मछिन्द्रका प्रदिप बुढाथोकी घोषित भए । उनले नगद २५ हजार रुपैयाँ पुरस्कार पाए ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी मछिन्द्रका पेमा तामाङ भए । उनले यामाहा कम्पनीको एकथान मोटरसाइकल पाए । बेष्ट गोलकिपर मछिन्द्रका विशाल श्रेष्ठ, बेष्ट कोच मछिन्द्रकै प्रवेश कटवाल, हाई स्कोरर मछिन्द्रका जोनाथन जोरिल्ला भए । उनीहरुले जनही ३५ हजार रुपैयाँ र ट्रफी पाए ।

प्रतियोगितामा टिकट लिएर फुटबल हेर्ने दर्शकमध्ये गोलाप्रथाबाट बिर्तामोडकी प्रिती मोक्तानले यामाहा कम्पनीको एकथान स्कुटर पाइन् ।
खेलको ३१औँ मिनेटमा मछिन्द्रले अग्रता बनाएको थियो । मछिन्द्रका स्ट्राइकर प्रदिप बुढाथोकीले विदेशी खेलाडी अयोला हमजातको पासमा गोल गरेका थिए । विपक्षी पोष्टको बायाँ बार च्याप्दै गरेको उनको प्रहार गोल भएको थियो ।
एपिएफमाथि पहिलो हाफमा लगातार दबाब कायम राखेको मछिन्द्रले अर्को गोल पहिलो हाफको ४५औँ मिनेटमा लगायो । देवेन्द्र तामाङको लामो प्रहारलाई मछिन्द्रका फ्रयाङक अनोहले गोल गर्न सफल भएका थिए ।
खेलको ८३औँ मिनेटमा मछिन्द्रले अर्को गोल थप्यो । मछिन्द्रका अयोला हमजातको कर्नर प्रहारमा डिफेण्डर अलिसन अलिजोनोभले गोल गर्न सफल भएका थिए ।

पहिलो हाफमा २–० गोल अन्तरले पछाडि परेको एपिएफले दोस्रो हाफमा मछिन्द्रमाथि दबाब दिएको थियो । खेलको ८२औँ मिनेटमा एपिएफले एक गोल फर्कायो । विश्वास उदासको फ्रिकिकलाई मछिन्द्रका डिफेण्डरले क्लियर गर्न नसकेको बललाई एपिएफका दिपेश धिमालले सुन्दर गोल गरे ।
खेलको ७६औँ मिनेटमा एपिएफ १० खेलाडीमा सीमित भयो । डिफेण्डर मानबहादुर राना मगर दोहोरो पहेँलो कार्डका कारण रातो कार्ड पाउँदै मैदानबाट बाहिरिए पछि एपिएफले खेलमा दबाबको सामना गरेको थियो ।
यसैबीच, नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वसदस्य नरोत्तम गौतमलाई २५ हजार रुपैयाँसहित सम्मान गरिएको छ ।
विजेता तथा उपविजेता टिमलाई प्रमुख अतिथि अखिल नेपाल फुटबल संघका अध्यक्ष पंकजविक्रम नेम्वाङ, बिर्तामोड नगरप्रमुख पवित्रा महतारा प्रसाईं, उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, किंग्सबेरी इन्टरटेन्मेन्टका जानु धिताल र जमुना धिताल, अन्तर्राष्ट्रिय झापाली समाजका उपाध्यक्ष नविन पोखरेल, भद्रपुर झापा गोल्डकपका अध्यक्ष दिपेश ढकाल, आयोजक झापा गोल्डकपका अध्यक्ष केदार गिरीलगायतले पुरस्कार वितरण गरेका थिए ।


