२०८२ फागुन ४ सोमवार , ०७:३८:१२ बजे

Sajhamanch
'

६ महिनामा झन्डै ५३ अर्ब रुपैयाँ भन्सार कर छुट

सोमवार, फागुन ४, २०८२

काठमाडौं । सरकारले चालू आर्थिक वर्षको पहिलो ६ महिनामा झन्डै ५३ अर्ब रुपैयाँ बराबर भन्सार महसुलमा कर छुट दिएको छ । अर्थ मन्त्रालयका अनुसार ४ खर्ब ८ अर्ब रुपैयाँका मालवस्तुको आयातमा ५२ अर्ब ८४ करोड ९६ लाख रुपैयाँ महसुल छुट दिइएको हो ।

मूल्य अभिवृद्धि कर ऐनअनुसार भन्सार महसुल छुट हुने वस्तुहरूको आयातमा २९ अर्ब ७० करोड ३३ लाख रुपैयाँ कर छुट दिइएको छ । भन्सार ऐन २०६४ अनुसार आयात भएका वस्तुहरूमा ४८ करोड २९ लाख रुपैयाँ भन्सार महसुल छुट दिइएको छ ।

त्यस्तै मुनाफारहित सार्वजनिक तथा सामुदायिक संस्था, नेपाल सरकार र सरकारी स्वामित्व संस्थाहरूले गरेको आयात तथा केही आयोजनाको नाममा भएको आयातमा पनि कर छुट दिइएको छ ।

सरकारले वार्षिक रूपमा दिने १ खर्ब रुपैयाँभन्दा धेरै कर छुटमा प्रश्न उठ्दै आएको छ ।

वर्तमान अर्थमन्त्री रामेश्वर खनाल नेतृत्वको उच्चस्तरीय आर्थिक सुधार आयोगले बुझाएको प्रतिवेदनले यसरी दिइने कर छुटमा गम्भीर प्रश्न उठाएको थियो । तर खनाल नै अर्थमन्त्री हुँदा पनि कर छुट दिने प्रवृत्ति कम नभएको अर्थ मन्त्रालयको तथ्याङ्कले देखाएको छ ।

सम्बन्धित खबर