
म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका किसान विकास श्रेष्ठले यस वर्ष २० लाख रुपैयाँ बराबरको सुन्तला बिक्री गर्नुभएको छ ।
१५ रोपनी क्षेत्रफलमा व्यावसायिक सुन्तलाखेती गर्नुभएका श्रेष्ठले म्याग्दीमा सबैभन्दा पछाडि सुन्तला टिपेर बजार पठाउँदा सामान्य अवस्थाको तुलनामा दोब्बर बढी मूल्यमा बिक्री गर्नुभएको हो ।
श्रेष्ठले सञ्चालन गरेको अन्नपूर्ण फलफूल तथा तरकारी फार्मबाट प्रतिकिलो २ सय रुपैयाँका दरले काठमाण्डौबाट आएका व्यापारीले सुन्तला खरिद गरेर लगेका हुन् । म्याग्दीमा पुस महिनामा प्रतिकिलो ७० रुपैयाँका दरले सुन्तला बिक्री भएको थियो ।
‘माघ लागेदेखि बढ्न शुरू भएको सुन्तलाको मूल्य फागुन २ गतेसम्म प्रतिकिलो २ सय रुपैयाँसम्म परेको हो,’ श्रेष्ठले भन्नुभयो, ‘गएको वर्षको तुलनामा यसपाली उत्पादन ४० प्रतिशतले घटेपनि मूल्य राम्रो पाउँदा आम्दानीमा असर परेन् ।’ उहाँले गएको वर्ष सरदर प्रतिकिलो १ सयका दरले १५ लाख रुपैयाँ बराबरको सुन्तला बिक्री गर्नुभएको थियो ।
श्रेष्ठको बगैँचामा रहेका ७ सय मध्ये अहिले ३ सय बोटमा यसपाली फल लागेको थियो । श्रेष्ठले आफ्नो बाहेक अन्य किसानको थप १ करोड ३० लाख रुपैयाँको सुन्तला पनि बिक्रीको व्यवस्था मिलाउनुभएको छ । दोसल्लेका ४२ घरपरिवार किसानले यस वर्ष २ करोड रुपैयाँ बराबरको सुन्तला बिक्री गरेका दोसल्ले सुन्तलाजात किसान समूहका अध्यक्ष प्रेम पाइजाले जानकारी दिनुभयो ।
बेनीमा पोल्ट्री र घरजग्गा व्यवसाय गर्दै आउनु भएका विकासले २०७६ सालमा सोखका लागि गाउँमा घर बनाएर बस्नका लागि किनेको दोसल्ले गाउँको शिरमा रहेको जङ्गलछेउको भिरालो पाखोबारी अहिले हराभरा भएको छ ।
पाखोबारीलाई घेराबार गर्ने, गरा बनाउने, खाडल खनेर सुन्तलाका बिरुवा लगाउने, गोडमेल, मलजल गर्न, संरचना बनाउन र जग्गा खरिदसहित फार्ममा ३ करोड ५० लाख रुपैयाँ लगानी भएको श्रेष्ठले बताउनुभयो । ‘कृषिबाट यति राम्रो कमाइ होला भनेर सोचेको थिइन्, गर्न सकेमा हुँदोरहेछ भन्ने मैले महसुस र अनुभव गरेँ,’ उहाँले भन्नुभयो, ‘थप जमिन खरिद गरेर फार्म विस्तार गर्दैछु ।’
उहाँको फार्ममा ३ जनाले नियमित रोजगारी पाएका छन् । सुन्तलाखेतीसँगै फार्ममा लोकल र बोइलर जातका कुखुरा पनि पालिएको छ । सुन्तलाका लागि कुखुराको सुलीको मल उपयोगी हुने श्रेष्ठको अनुभव छ । कृषि फार्मका लागि सरकारी निकायबाट अहिलेसम्म अनुदान नलिएको श्रेष्ठले बताउनुभयो ।
काठमाण्डौको बल्खुका व्यापारीसँग सिधै सम्पर्क गरेर सुन्तला पठाउन थालेपछि उचित मूल्य पाएको र बजार सुनिश्चित भएको उहाँले बताउनुभयो । घरजग्गा व्यापार छाडेर कृषि व्यवसायमा लागेका श्रेष्ठले बेनीमा दाना र चल्लाको व्यापार गर्ने जलेश्वर पोल्ट्री फार्म सञ्चालनको जिम्मा छोरा आदेशलाई जिम्मा लगाउनुभएको छ ।
अवसर, सुविधा र रोजगारीका लागि विदेश र शहर पस्ने क्रम बढिरहेको अवस्थामा बजारबाट गाउँ गएर कृषि व्यवसाय गरेका श्रेष्ठ किसानका लागि उदाहरणको पात्र बन्नुभएको दोसल्लेका अगुवा किसान खगवीर पाइजाले बताउनुभयो ।
‘उहाँ (विकास) ले बाँझिएको जग्गालाई सदुपयोग मात्र गर्नुभएको छैन,’ पाइजाले भन्नुभयो ‘गाउँमा सुन्तला खेतीका लागि नयाँ प्रविधि भिर्त्याउनुभएको छ । उहाँको सिको गरेर बजार झरेका गाउँ फर्किएर सुन्तलाखेती गरेका छन् ।’
सुन्तला खेतीका लागि जग्गा किन्न आउनेहरु बढेका र खेतबारीको भाउ पनि बढेको पाइजाले बताउनुभयो । विकासको सुन्तला बगैँचा अवलोकनका लागि बेनी र आसपासका ठाउँबाट किसान तथा व्यवसायी आउने गरेका छन् । यो बगैँचाबाट पृष्ठभूमिमा निलगिरि र धौलागिरि हिमाल देखिन्छ ।
बगैँचाकोबीच भागमा पाहुना र आफू बस्नका लागि घर बनाएका श्रेष्ठको फार्मलाई कृषि पर्यटनसँग जोड्ने योजना छ । समुन्द्री सतहदेखि १ हजार ५ सय मिटर उचाइमा रहेको दोसल्लेका किसानले सुन्तला खेतीलाई मुख्य आयस्रोत बनाएका छन् ।


